Logo

मुख्य समाचार

तीजका लागि पशुपतिनाथमा दर्शन व्यवस्थापन अन्तिम तयारीमा



काठमाडौं । पशुपतिनाथ मन्दिरमा हरितालिका तीजका अवसरमा हुने दर्शन व्यवस्थापन अन्तिम तयारीमा पुगेको छ। पशुपति क्षेत्र विकास कोषले आइतबार पत्रकार सम्मेलन गर्दै भक्तजन तथा हिन्दु नारीहरूको सुविधाका लागि सुरक्षा, दर्शनमार्ग, चन्दनप्रसाद, स्वास्थ्य, सरसफाइदेखि यातायातसम्म आवश्यक व्यवस्थाहरू पूरा भएको जनाएको हो।

कोषका अनुसार भक्तजनलाई सहज दर्शन गराउन चारवटा अलग–अलग मार्ग तोकिएका छन्। ती मार्ग क्रमशः गौरीघाट, मित्रपार्क, पिंगलास्थान र तिलगङ्गाबाट प्रवेश गरी मन्दिरको विभिन्न ढोकाबाट निस्कने व्यवस्था मिलाइएको छ। दर्शन विहान ३ बजेबाट सुरु हुनेछ भने कुनै प्रकारको विशेष पूजा वा पासको व्यवस्था गरिएको छैन।

भीड व्यवस्थापनका लागि अस्थायी पुल, जुत्ताचप्पल राख्ने कक्ष, चन्दन वितरण, गौदानका लागि स्थान, गीत–संगीत तथा दिपावलीका कार्यक्रम पनि तय गरिएको कोषले जनाएको छ। साथै, वृद्ध, असक्त, काखे बालबालक बोकेकी महिला तथा बिरामीहरूका लागि विशेष व्यवस्था हुने छ।

सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकता अनुसार नेपाली सेना परिचालन गरिनेछ। सादा पोशाकमा प्रहरी खटाइ पाकेटमारी नियन्त्रण गर्ने र मेला क्षेत्रभर सीसी क्यामेराबाट निगरानी गर्ने तयारी गरिएको छ। आपत्कालीन अवस्थामा दमकल, उद्धार टोली र स्वास्थ्य शिविर परिचालन हुने कोषले जनाएको छ।

मन्दिर क्षेत्र सवारी निषेधित हुने भएकाले भक्तजनका लागि तिलगङ्गा आँखा अस्पताल, सिफल चौर, गुह्येश्वरी आसपास र अन्य स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ। स्थानीयलाई भने परिचयपत्र देखाएर घर–कार्यालय आवतजावतको सुविधा दिने व्यवस्था गरिएको छ।

कोषले भक्तजनलाई बहुमूल्य गहना नलगाउन, स–साना बालबालिका सँगै नल्याउन, सभ्य र व्यवस्थित रूपमा दर्शन गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ६ : ४८ बजे