Logo

खेलकुद

ला लिगामा पेड्रीको योगदानमा बार्सिलोनाको पुनरागमन जित



काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले लेभान्तेविरुद्ध ३–२ को पुनरागमन जित हासिल गरेको छ ।

शनिबार सिउडाड डे भ्यालेन्सिया रंगशालामा भएको खेलमा घरेलु टोली लेभान्तेले पहिलो हाफमै २–० को अग्रता लिएको थियो । १५औँ मिनेटमा इभान रोमेरोले गोल गर्दै लेभान्तेलाई अग्रता दिलाए भने इन्ज्युरी समयमा जोसे लुइस मोरालेसले पेनाल्टीमार्फत दोस्रो गोल गरे ।

दोस्रो हाफमा बार्सिलोनाले खेल पल्टायो । ४९औँ मिनेटमा पेड्रीले पहिलो गोल फर्काए भने ५२औँ मिनेटमा फेरान टोरेसले बराबरी गोल गरे । खेलको इन्ज्युरी समयमा लेभान्तेका एल्गेजाबालको आत्मघाती गोलले बार्सिलोनाले जित पक्का गर्यो ।

पेड्री ‘प्लेयर अफ द म्याच’ घोषित भए । लगातार दोस्रो जितसँगै बार्सिलोनाले ६ अंक जोड्दै शीर्ष स्थान सुरक्षित गरेको छ भने लगातार पराजित लेभान्ते अंकविहीन रहँदै १८औँ स्थानमा छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  १० : ५५ बजे