Logo

मुख्य समाचार

इटहरीमा आईआईसी इनोभेक्स, विराटनगर इन्टरनेशनल विजेता



इटहरी । नेपालकै सबैभन्दा ठूलो विद्यार्थी–नेतृत्वको नवप्रवर्तन र उद्यमशीलता महोत्सव ‘आईआईसी इनोभेक्स ३.०’ तीन दिनको भव्य यात्रापछि सफलतापूर्वक सम्पन्न भएको छ । साउन ४ देखि ६ गतेसम्म इटहरी इन्टरनेशनल कलेजमा आयोजना गरिएको यस महोत्सवले देशभरका १६ वटा कलेजका विद्यार्थीलाई एउटै मञ्चमा ल्याउँदै सिर्जनात्मकता, प्रतिस्पर्धा र प्रेरणाको नयाँ उचाइ कायम गरेको हो ।

यसपटक विराटनगर इन्टरनेशनल कलेज विजेता बन्न सफल भयो भने एसीई इन्स्टिच्युट अफ म्यानेजमेन्ट पहिलो रनरअप र हेराल्ड कलेज काठमाडौं दोस्रो रनरअप बने । निर्णायकहरूले मौलिक विचार, स्पष्ट रणनीति र आत्मविश्वासपूर्ण प्रस्तुति प्रस्तुत गर्ने टोलीलाई उच्च अंक दिएका थिए ।

विजेताहरूलाई कलेजका प्रमुख कार्यकारी अधिकृत सत्यव्रत कोइराला, कार्यक्रम लिडर अच्युतराज भट्टराईलगायत पदाधिकारीहरूले नगद पुरस्कार र ट्रफी प्रदान गरे । ‘फाइनान्सियल फीट’, ‘लिगल सिम्पोजियम’, ‘मार्केटिङ माभेन’ र ‘सिइओ क्रोनिकल्स’ जस्ता विभिन्न कार्यक्रममार्फत विद्यार्थीहरूले शैक्षिक ज्ञानलाई व्यवहारिक जगतमा उतार्ने अवसर पाएका थिए ।

निर्णायक मण्डल, उद्योग विज्ञ र दर्शकहरू विद्यार्थीहरूको मौलिक प्रस्तुति र समाधान प्रस्तावले प्रभावित बने । देशभरका दुइसय भन्दा बढी विद्यार्थीको प्रत्यक्ष सहभागिता रहेको इन्नोभेक्स ३.० मा उद्योग विज्ञ, शिक्षाविद् र मिडियाको उल्लेखनीय चासो रह्यो ।

महोत्सवले विद्यार्थी, पेशेवर र सम्भावित रोजगारीदाताबीच बलियो नेटवर्किङ र सहकार्यको वातावरण बनाएको आयोजकहरूको दाबी छ । समापन कार्यक्रममा आयोजक टोलीले सहभागी कलेज, मार्गदर्शक र सहकार्य साझेदारलाई धन्यवाद व्यक्त गर्दै ‘आईआईसी इनोभेक्स ३.०’ ले नेपाली विद्यार्थीहरूको विश्वस्तरीय क्षमता पुनः प्रमाणित गरेको उल्लेख ग¥यो । साथै, उनीहरूले आगामी वर्ष ‘आईआईसी इनोभेक्स ४.०’ अझ ठूलो प्रभावका साथ आयोजना गर्ने योजना सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ११ : ३८ बजे