जनकपुर । जनकपुरधाममा निजी विद्यालयहरुले बस र्याली सहित विरोध प्रदर्शन गरेका छन् । संसदीय समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकको विरोधमा शुक्रबार निजी विद्यालयहरुले शान्तिपूर्ण बस र्याली निकालेका छन् ।
समितिबाट पारित गरिएको शिक्षा विधेयकमा निजी विद्यालयहरुसँग बेइमानी गरिएको भन्दै निजी विद्यालयका सञ्चालकहरु आ–आफ्ना विद्यालयको बससहित जनकपुरधामको रामानन्द चोकबाट र्याली निकालेर नगर परिक्रमा गरेको छन् ।
प्याब्सन जनकपुरधामको नगर अध्यक्ष रविन्द्र चौधरीका अनुसार शिक्षा विधेयकमा निजी विद्यालयहरुलाई कम्पनी ऐन अन्तर्गत राखेर अन्याय गरेकाले केन्द्रिय सर्कुलर अनुसार आफूहरुले बस र्यालीसहित विरोध जनाएका हुन । अहिलेको शिक्षा विधेयकमा पूर्ण छात्रवृतिको व्यवस्था आफूहरुलाई मान्य नरहेको उनले बताए ।
निजी विद्यालयहरुलाई समाप्त पार्ने हिसाबले ल्याइएको शिक्षा विधेयकप्रति घोर आपत्ति जनाउँदै आफूहरु आन्दोलित हुन बाध्य भएको चौधरीको भनाई छ ।
र्यालीमा प्याबसन, एनप्याब्सन र हिसानमा आवद्ध विद्यालयहरुका संचालकहरुको सहभागीता रहेको थियो ।
उनीहरुले निजी विद्यालयहरुलाई शिक्षा विधेयकमा कम्पनी ऐन अन्तर्गत राख्ने व्यवस्थाका साथै पूर्ण छात्रवृतिको व्यवस्था नहटाइएसम्म आन्दोलन जारी रह्ने बताएका छन् ।
प्रतिक्रिया