Logo

समाचार

सरकारी कर्मचारीहरू कामभन्दा बढी लोकसेवा तयारीमा लाग्ने मन्त्री न्यौपानेको टिप्पणी



काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीहरू काममा ध्यान नदिँदा सरकार अपेक्षित परिणाम दिन नसकेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री न्यौपानेले कर्मचारीहरूले हाजिरी र लोकसेवा तयारीमा बढी समय खर्च गर्ने प्रवृत्ति बढेको उल्लेख गरिन्। उनले भने, “धेरै कर्मचारी हाजिर लगाएर बसेर आफ्नो वृत्तिविकास र लोकसेवा तयारीमा ध्यान दिन्छन्। यसले सरकारले चाहेजस्तो नतिजा दिन सक्दैन।”

मन्त्री न्यौपानेका अनुसार, सबै तहमा खुला प्रतिष्पर्धाबाट कर्मचारी नियुक्त गर्दा कामभन्दा बढी लोकसेवाको तयारीमा ध्यान जाने अवस्था देखिएको छ। त्यसैले उनले केही पदमा खुला प्रतिष्पर्धा नराख्ने सुझाव दिएकी छन्।

साथै, हाल प्रतिनिधिसभाबाट पारित संघीय निजामती सेवासम्बन्धी विधेयकअनुसार लोकसेवा आयोगमार्फत नायब सुब्बा र सहसचिव पदमा खुला विज्ञापन नहुने व्यवस्था गरिएको छ। राष्ट्रियसभामा पुगेको विधेयकमा खरिदार तहबाट आन्तरिक बढुवामार्फत नायब सुब्बामा प्रवेश गर्ने व्यवस्था राखिएको छ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  २ : ५० बजे