काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२५’ ले नयाँ मोडेल, विशेष अफर र विद्युतीय गाडीहरूको प्रदर्शनका कारण दर्शकको चहलपहल बढाएको छ ।
भदौ ८ गतेसम्म चल्ने प्रदर्शनीमा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका पेट्रोल तथा ईभी सवारी साधन देख्न पाइन्छ ।
शो का अवसरमा विहीबार नेपालका लागि सुजुकीको आधिकारिक वितरक सिजी मोटोकर्पले ३४ लाखदेखि १ करोड रुपैयाँसम्मका मोडेलसहित ‘पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।
यसअन्तर्गत ग्राहकलाई ६ लाख रुपैयाँसम्म नगद छुट, एक वर्षको बिमा, ६ वर्षसम्म निःशुल्क पाट्र्स, २ लाख रुपैयाँसम्म एक्सचेञ्ज बोनस र एसेसरिज पाउन सकिनेछ ।
सेरेसले अटो शो अवधिभर मात्रै लागू हुने विशेष योजना ल्याएको छ । ३ वर्षको बीमा, ३ गुणासम्म नगद छुट र बुकिङ रकम बराबर फाइदासहितको अफरमार्फत अधिकतम ६ लाख रुपैयाँसम्म लाभ लिन सकिनेछ । सेरेसले हालै लोमान्थाङसम्म ईभी चढाएर कीर्तिमान बनाएको उपलब्धि पनि प्रदर्शनीमा प्रस्तुत गरेको छ ।
यस्तै, टाटा मोटर्सले आधिकारिक वितरक सिप्रदी ट्रेडिङमार्फत नेक्सन पेट्रोल, टियागो ईभी, पन्च ईभी, कर्भ ईभी र नयाँ सफारी सार्वजनिक गरेको छ । कर्भ ईभी र सफारी अवलोकनकर्ताको आकर्षण बनेका छन् ।
टाटाले ईभी खरिदकर्ताका लागि आजीवन निःशुल्क चार्जिङ, तीन वर्षको निःशुल्क सर्भिसिङ, एक वर्षको बीमा र रोड ट्याक्ससमेतको अफर दिएको छ ।
सन् २०५५ सालदेखि सुरु भएको नाडा अटो शो यसपालि १७औँ संस्करणमा पुगेको हो । यसअघि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ सम्पन्न गरिसकेको छ ।
दुई अटो शोबीच प्रतिस्पर्धा भए पनि नाडा अटो शोले आफ्नो आकर्षण कायम राख्न सफल भएको छ ।
अटो शोमा सवारीसाधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रियालगायत कार्यक्रमसमेत भइरहेका छन् ।
मंगलबारबाट सुरु भएको शो को पहिलो दिन १९ हजार ७ सय ६ जना र दोस्रो दिन २८ हजार ९ सय ७८ जनाले अवलोकन गरेको नाडाले जनाएको छ। अटो शोको दोस्रो दिन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले समेत नाडा अटो शोको अवलोकन गरेका थिए ।
अटो शोमा रोबोट, दिपलको उड्ने कारलगायत प्रविधि र फ्युचरिस्टिक मोबिलिटी अवलोकनकर्ताले रुचाएका छन् ।
अटो शोमा १९ चारपांग्रे, १३ लाइट कमर्सियल र ५ दुइपांग्रे सवारी ब्रान्डले सहभागिता जनाएका छन् । त्यस्तै ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पाट्र्स, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहेको छ ।
शोमा मोसिर माइनर, प्युजो, मिनी कुपर, टोयोटा आरटी, मर्सिडिज बेन्ज, टोयोटा कोरोलालगायत १२ वटा भिन्टेज गाडी प्रदर्शनीमा छन् ।
प्रतिक्रिया