Logo

Breaking News 1

राजनीतिको पूरै जिम्मा मेरै काँधमा छ जस्तो लाग्छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले साहित्य, कला र संस्कृति जीवनको अत्यन्तै संवेदनशील र प्रभावशाली पक्ष भएको बताएका छन् ।

बाबा बस्नेतका तीन कृति रङ्गीन घरहरू (कथासङ्ग्रह), ढुङ्गामा आकार (कवितासङ्ग्रह) र आवाज (श्रव्य नाटकसङ्ग्रह) को लोकार्पण समारोहमा बोल्दै अध्यक्ष दाहालले आफू राजनीतिमा सक्रिय हुनु अघि साहित्यप्रति गहिरो लगाव रहेको उल्लेख गरे ।

उनले भने, ‘साहित्य, कला व्यक्तिको जीवन र सामाजिक जीवनको असाध्यै संवेदनशिल, असाध्यै प्रभावशालि क्षेत्र हो । राजनीतिमा लाग्नु अघि मेरो पहिलो प्राथमिकता साहित्य नै थियो ।’

आफूलाई धेरैले भावुक र तुरुन्तै मन पग्लिने स्वभावको व्यक्ति भनेर चिनाउने गरेको भन्दै उनले राजनीतिक यात्राको सुरुवात २०–२२ वर्षको उमेरमा गरेपनि त्यसअघि उपन्यास, कथा र कविता पढ्नमा अत्यधिक समय बिताएको स्मरण गरे ।

‘कलासाहित्यतर्फ मेरो गहिरो रुचि थियो, तर राजनीतिमा सक्रिय भएपछि त्यो क्षेत्रमा समय दिन सकिएन । अहिले पनि राजनीतिक व्यस्तता यति धेरै छ कि साहित्यमा समय दिन नपाएकोमा दुःख लाग्छ ।’ प्रचण्डले भने ।

साथै उनले देशको वर्तमान राजनीतिक परिस्थिति अस्थिर र संवेदनशिल भएको उल्लेख गर्दै आफूले त्यसको ठूलो जिम्मेवारी बोकिरहेको धारणा व्यक्त गरे ।

उनले भने, ‘सरकारमा त छैन, तर देशको राजनीतिको खम्बा मैले छोडिदिए सबै भत्किने जस्तो लाग्छ । ग्र्याल्याम गुर्लुङ ढल्ने पो हो कि जस्तो लाग्छ । पूरै जिम्मा मेरो काँधमा जस्तो लागिरहेको छ ।’

उनले हालको राजनीति संकटपूर्ण मोडमा रहेको संकेत गर्दै आफूमाथि परेको दबाब बारे खुलस्त गरेका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ५ : १३ बजे