Logo

विश्व

ट्रम्पको दाबी– “६ युद्ध रोकेँ, ४–५ पटक नोबेल शान्ति पुरस्कार पाइसक्थें”



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले पछिल्ला सात महिनामा ६ देखि ७ वटा युद्ध रोकेको दाबी गरेका छन्। सोमबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटमा उनले यी सबै सम्झौताहरू युद्धविराम नभई स्थायी शान्ति सम्झौता भएको बताएका छन्।

ट्रम्पका अनुसार आर्मेनिया–अजरबैजान, कंगो–रुवान्डा, भारत–पाकिस्तान, इजरायल–इरान, कम्बोडिया–थाइल्यान्ड, सर्बिया–कोसोभो र इजिप्ट–इथियोपियाबीचको द्वन्द्व आफ्नो मध्यस्थतामा अन्त्य भएको हो। उनले नोबेल शान्ति पुरस्कारका लागि आफूलाई ४–५ पटक योग्य ठहरिनुपर्ने दाबी समेत गरेका छन्।

तर, प्रकाशित सूचीअनुसार ट्रम्पको पहिलो कार्यकालमै सर्बिया–कोसोभो र इजिप्ट–इथियोपियाबीच अस्थायी सम्झौता भएको थियो। इजिप्ट–इथियोपियाको विवादमा त युद्धविराम सम्झौतामै हस्ताक्षर भएको थिएन। भारतले पाकिस्तानसँगको द्वन्द्वबारे ट्रम्पको भूमिकालाई अस्वीकार गरेको छ भने अन्य सम्झौतामध्ये धेरैमा द्वन्द्व पुनः भड्किने जोखिम देखिएको छ।

रूस–युक्रेन र इजरायल–हमासबीचको युद्ध जारी रहँदा पनि ट्रम्पले यी द्वन्द्वहरू रोकिएको दाबी गरेका छन्।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन्, “मलाई नोबेल शान्ति पुरस्कार दिइने छैन। भारत–पाकिस्तानबीच युद्ध रोकेकोमा, सर्बिया–कोसोभोबीच युद्ध रोकेकोमा, इजिप्ट–इथियोपियाबीच शान्ति कायम गरेकोमा वा पश्चिम एसियामा अब्राहम सम्झौताका लागि पनि मलाई पुरस्कार दिइने छैन।”

अजरबैजान, आर्मेनिया, कम्बोडिया, पाकिस्तान सरकार र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने माग गरेका छन्।

Source: BBC

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ११ : २३ बजे