Logo

राजनीति

उपसभामुखविरुद्ध प्रस्ताव दर्ता प्रक्रिया सुरु, कांग्रेस–एमाले हस्ताक्षर संकलनमा



काठमाडौं । उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले हस्ताक्षर संकलन सुरु गरेका छन्। नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले पार्टीको निर्देशनअनुसार हस्ताक्षर गरेको पुष्टि गर्दै रानालाई हटाउन आवश्यकता परेको बताएका छन्।

प्रतिनिधिसभा नियमावलीको नियम २१० अनुसार सभामुख वा उपसभामुखले पदअनुकूल आचरण नगरेको ठहर भएमा प्रतिनिधिसभाका एक चौथाइ सदस्यको समर्थनमा पदमुक्त प्रस्ताव दर्ता गर्न सकिन्छ। प्रतिनिधिसभामा हाल २७४ सदस्य रहेका छन्। एक चौथाइको समर्थनका लागि ६९ सांसद आवश्यक हुन्छ।

तर, पदमुक्त गर्ने प्रस्ताव पारित गर्न भने दुई तिहाइ बहुमत चाहिन्छ। हालको गणनाअनुसार १८३ सांसदको समर्थन आवश्यक पर्छ। नेपाली कांग्रेसका ८८ र एमालेका ७९ सांसद गरी १६७ सांसदको समर्थन प्राप्त भइसकेको छ। थप १६ सांसदको समर्थन जुटे मात्र प्रस्ताव पारित हुने अवस्था छ।

प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टी नेपालका ५, जनमत पार्टीका ६, लोकतान्त्रिक समावादी पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, नेमकिपाका १, जनमोर्चाका १, आजपाका १ र स्वतन्त्र २ सांसद रहेका छन्।

यसैबीच, सत्तापक्षकै जनता समाजवादी पार्टीका सात सांसद कसरी उभिन्छन् भन्नेबारे पनि राजनीतिक परिदृश्य स्पष्ट हुन बाँकी छ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १२ : ४८ बजे