काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आगामी भदौ २९ गते पोखरामा आयोजना हुने एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ को पिपल्स च्वाइस अवार्ड विधाका लागि मनोनीत पाँच खेलाडीको नाम सार्वजनिक गरेको छ ।
अवार्डको २२ औं संस्करण पहिलोपल्ट राजधानी बाहिर हुँदैछ, जसका लागि मुख्य प्रायोजक गोल्छा ग्रुप तथा प्रवद्र्धक पोखरा महानगरपालिका रहेका छन् । प्रेस विज्ञप्तिमार्फत मञ्चले दुबै संस्थाप्रति आभार व्यक्त गरेको छ ।
पिपल्स च्वाइस अवार्डका लागि क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, टेबलटेनिसकी इभाना थापा, उसुका विजय सिन्जाली र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका छन् ।
मनोनयन सार्वजनिक गर्दै मञ्चले वर्षभर उत्कृष्ट प्रदर्शन गरेका साथै केही ओझेलमा परेका खेलाडीलाई जनसमक्ष थप चर्चित बनाउने उद्देश्यले यो विधा सार्वजनिक गरिएको जनाएको छ ।
पिपल्स च्वाइस विजेता आईएमई खल्ती, सामाजिक सञ्जाल, प्रशिक्षक र खेल पत्रकारहरूको संयुक्त मतका आधारमा चयन गरिनेछ ।
यस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार स्वरूप प्राप्त गर्नेछन् । भोटिङको लागि आईएमई खल्ती डिजिटल पार्टनरका रूपमा आबद्ध भएको छ ।
यस संस्करणमा १० विधामा अवार्ड प्रदान गरिनेछ । वर्ष खेलाडी (पुरुष, महिला, युवा) र प्रशिक्षकलाई समेत पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विजेतालाई जनही १ लाख रुपैयाँ पुरस्कार दिइनेछ । गत वर्ष कविता भट्टले पिपल्स च्वाइस अवार्ड जितेकी थिइन् । मुख्य आयोजक समितिको अध्यक्षतामा निरञ्जन अधिकारी रहेका छन्, र उनले अवार्डको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले मिडिया र समर्थकको निरन्तर सहयोगमा पूर्ण विश्वास व्यक्त गर्दै, आगामी कार्यक्रमलाई थप भव्य बनाउने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया