रौतहट । कृष्ण जन्मअष्टमी मेलाको विषयलाई लिएर देवाही गोनाही नगरपालिकाको धरहरीमा झड्प भएको छ । धरहरी गाउँमा शनिबार आयोजित मेला उदघाटन गर्न रिबन काट्ने विषयलाई लिएर उत्पन्न विवाद पछि झड्प भएको हो ।
झड्पमा परेर जनप्रतिनिधि तथा सुरक्षाकर्मी गरि पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
देवाही गोनाही नगरपालिकाको मेयर प्रेमलाल साह, बरिष्ठ प्रहरी हवल्दार जगदीश यादव ,धनसुन्दर ठाकुर, स्थानीय बासिन्दा श्याम विनय साह र राम विकास साह घाइते भएका हुन् ।
इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार घटनामा संलग्न देवाही गोनाही ९ धरहरी टोलका ४० बर्षीय राधामोहन साह, ३५ बर्षीय विनोद साह र २२ बर्षीय रितिक साहलाई नियन्त्रणमा लिइएको छ ।
झड्पमा घाइते भएका मेयर साह सहितको गरुडा स्थित बेटर मल्टिस्पेसियालिटी अस्पतालमा उपचार भै रहेको छ । यस घटनाको बारेमा आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
प्रतिक्रिया