रामेछाप । बिरामीलाई रगतको अभाव हुन नदिन रामेछापका युवाहरूले रक्तदान गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल रामेछापको आयोजनामा शनिबार मन्थलीमा रक्तदान गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज गणेशबज्र लामाले जानकारी दिए ।
वर्षाको समयमा रगतको अभाव हुने भएकोले सो अभाव हुन नदिन संगठनको केन्द्रले नै सबै जिल्लामा रक्तदान कार्यक्रम राखेकोले रामेछापमा पनि रक्तदान राखिएको संगठनका जिल्ला अध्यक्ष शिवसागर मगरले जनकारी दिए । ‘रगत दान जीवन दान हो, हाम्रो संगठनको केन्द्रको सर्कुलर पनि साउन महिनामा वृक्षारोपण र रक्तदान कार्यक्रम थियो, हाम्रो वार्षिक कार्यक्रममा पनि यो कार्यक्रम भएकोले रक्तदान कार्यक्रम राखिएको हो’, उनले भने ।
रक्तदान कार्यक्रममा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ लगायतले रगत दिएका थिए । रक्तदातालाई संघको तर्फबाट सभापति श्रेष्ठले प्रमाणपत्र वितरण गरे ।
प्रतिक्रिया