काठमाडौं । प्रथम पूर्वउपराष्ट्रपति परमानन्द झाले भारत र नेपालबीच रहेको सम्बन्ध संसारमा अन्य कुनै मुलुकमा पनि नरहेको बताएका छन् ।
शुक्रबार भारतको ७९ औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भाषा, संस्कृति लगायत हरेक कुरामा भारत र नेपालबीचमा रहेको सम्बन्ध संसारमा कतै नभएको भन्दै नेपाल र भारतको खुला सिमानाको कारणले गर्दा पनि यो सम्बन्ध भएको बताए ।
उनले भने, ‘भारत र नेपालको सन्दर्भमा जति कुराहरु गरेपनि कहिले पनि सकिने र अन्त्य हुने यसको अवस्था छैन् । भारत र नेपालबीको सम्बन्ध अभूतपूर्व छ । भाषा, संस्कृति लगायत हरेक कुरामा भारत र नेपालबीचमा रहेको सम्बन्ध संसारमा कतै छैन् । नेपाल र भारतको खुला सिमानाको कारणले गर्दा पनि यो सम्बन्ध राम्रो भएको हो ।’
यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाल र भारतमा भएका अधिकारका लडाइहरुमा दुवैको देशका जनताको उत्तिकै हात रहेको भन्दै भावनात्मक रुपमा दुई देश जोडिएको बताए ।
उनले भने, ‘भारतका नेताहरु नेपालमा बसेर त्यहाँबाट समाजवादी नेता जयप्रकाश नारायण देखि विभिन्न नेताहरु भारत छोडो आन्दोलन चलाएका थिए । यो दुवै देशको जनताको अधिकारमा भारतको आजादीको कुरामा दुवै देशका जनताहरु एक आपसमा यसरी मिलेर लडेका थिए कि भारतको आजादी पनि आफ्नै आजादी माने । नेपालको जनताको अधिकार प्राप्तिलाई पनि भारतका नेताहरुले आफ्नै कर्तव्य ठाने । यो भावनाको दौड निकै महत्वपूर्ण रहन्छ ।’
सोही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर जबराले पनि नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक भएको भन्दै दुई देशको धर्म र संस्कृति पनि एउटै मूलबाट निस्किएको बताए ।
प्रतिक्रिया