काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका नेता अनिल कुमार झाको नेतृत्वमा नेपाल सद्भावना पार्टी पुनर्गठन भएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै झाले पुनर्गठित पार्टीलाई बुधबार निर्वाचन आयोगले औपचारिक मान्यता दिएको जानकारी दिए।
झाले १२ बुँदे सैद्धान्तिक प्रतिबद्धता सार्वजनिक गर्दै मधेश आन्दोलनका शहीदहरूको सम्मान, महिला, दलित, मुस्लिम, आदिवासी–जनजाति, पिछडिएको वर्गलगायत सबै वञ्चित समुदायको समान अधिकार र पहिचान सुनिश्चित गर्न पार्टी संघर्षरत रहने बताए। पार्टीले संघीयता कार्यान्वयनमा उदासिनता, भूमिहीन समस्या, रासायनिक मल अभाव, मधेशमा भूमिगत जल संकट, तथा प्रहरी प्रशासनमा मधेशप्रतिको भेदभाव अन्त्यका लागि सरकारसँग माग गरेको छ।
नेपाल सद्भावना परिषद् २०४० सालमा स्थापना भई २०४७ सालमा गजेन्द्र नारायण सिंहको नेतृत्वमा नेपाल सद्भावना पार्टीमा रूपान्तरण भएको थियो। २०७४ सालमा राजपामा विलय भए पनि पार्टी पुनःस्थापित गरिएको थियो। झाले विगतको लोकतान्त्रिक, गणतान्त्रिक र मधेश आन्दोलनमा पार्टीको भूमिका स्मरण गर्दै लोकतन्त्र र समानताको पक्षमा निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया