Logo

राजनीति

प्रधानमन्त्री ओली चीन जाँदै


२९ श्रावण २०८२, बिहिबार  

23
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियानजिमा हुने सांघाई सहयोग संगठन (एससीओ)को २५औँ शिखर सम्मेलनमा सहभागी हुने भएका छन्। सम्मेलन आगामी भदौ १५ र १६ गते आयोजना हुनेछ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार प्रधानमन्त्रीको भ्रमण तयारी भइरहेको छ र उपयुक्त समयमा विस्तृत जानकारी दिइनेछ।

सम्मेलनमा एससीओ सदस्य राष्ट्रका सरकार प्रमुखहरू सहभागी हुनेछन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सम्मेलनमा सहभागी हुन चीन जाने कार्यक्रम छ। सम्मेलनको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने प्रयास भइरहेको स्रोतले जनाएको छ।

चीन भ्रमणपछि प्रधानमन्त्री ओलीले भारतको सरकारी भ्रमण गर्नेछन्। परराष्ट्र मन्त्रालयका अनुसार उनले भदौ ३१ देखि असोज १ गतेसम्म भारत भ्रमण गर्ने तयारी छ।

सन् २००१ जुन १५ मा कजाखस्तान, चीन, किर्गिस्तान, रूस, ताजिकिस्तान र उज्बेकिस्तानद्वारा स्थापना भएको एससीओमा हाल भारत, इरान, कजाखस्तान, चीन, किर्गिस्तान, पाकिस्तान, रूस, ताजिकिस्तान र उज्बेकिस्तान गरी नौ सदस्य छन्। अफगानिस्तान, बेलारुस र मंगोलिया पर्यवेक्षक राष्ट्र हुन् भने नेपालसहित १४ राष्ट्र ‘डायलग पार्टनर’का रूपमा रहेका छन्।

प्रधानमन्त्री ओलीले गत वर्ष मंसिरमा चीनको औपचारिक भ्रमण गरेका थिए।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  १२ : ०९ बजे