रामेछाप । आयुर्वेदिक उपचारप्रति नागरिकको विश्वास बढ्दै गएपछि मन्थलीको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
गत आर्थिक वर्षमा झन्डै ३१ हजारले उपचार लिएको मन्थलीस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा यो वर्ष सो सङ्ख्या अझ बढ्ने एक महिनाको बिरामीको सङ्ख्याले देखाएको चिकित्सालयका निमित्त प्रमुख दीपक कार्की बताउँछन् ।
जिल्ला सदरमुकाम मन्थलीमा सञ्चालित चिकित्सालयमा दैनिक आउने बिरामीको सङ्ख्या बढ्दो छ । ‘सेवाको प्रचार र नागरिकको विश्वासले उपचार गराउन आउनेको सङ्ख्या बढ्दो छ’, कार्कीले भने ।
एलोपेथिक उपचार भन्दा आयुर्वेदिक उपचारको साइड इफेक्ट कम हुने भएकोले पनि बिरामीहरू यो उपचारमा आकर्षित भएका हुन् । ‘नसर्ने र पुराना रोगको उपचार गराउने बिरामीको सङ्ख्या तुलनात्मक रूपमा बढी छ’, उनले भने ।
कार्कीका अनुसार अहिले २३ प्रकारका निःशुल्क आयुर्वेदिक औषधि र सशुल्क औषधी समेत दिँदै आएको चिकित्सालयले प्रत्येक सोमबार रगत, पिसाब परीक्षण सहितका निःशुल्क स्वास्थ्य परीक्षण सेवा दिँदै आएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत मधुमेह, उच्च रक्तचाप, मिर्गौला, कलेजो जाँचका लागि सो सेवा प्रदान गरिएको हो ।
चिकित्सालयमा ओपिडीका साथै पञ्चकर्म, पूर्वकर्म, क्षारसूत्र, फिजियोथेरापी, अकुपञ्चर, प्यथोलोजी ल्याब, परामर्श र आयुर्वेदिक औषधि वितरणजस्ता सेवा सञ्चालन गर्दै आएको छ । चिकित्सालयमा लामो समयसम्म निका नभएका रोग, हाड जोर्नी, नसा, ग्यास्ट्रिक लगायत विभिन्न पेटका रोकका बिरामी, लामो समयसम्म टाउको दुखिरहने, लामो समय सुक्खा खोकी लाग्ने, पायल्स, युरिक एसिड लगायतका रोगका बिरामीहरू उपचारका लागि आउने गरेका कार्कीले बताए ।
यसअघि बसपार्क नजिक साँघुरो संरचनामा सञ्चालन हुँदै आएको चिकित्सालयले साउनदेखि आकाशे स्थित मन्थली अस्पतालको पुरानो भवनबाट सेवा विस्तार गरेको छ । मन्थली नगरपालिका र मन्थली नगर अस्पतालले उपलब्ध गराएको सो संरचनाबाट सेवा सुरु गरेपछि सेवा प्रवाहमा निक्कै सहज भएको चिकित्सालयले जनाएको छ ।
सो चिकित्सालयलाई २४ घण्टे इनडोर सेवा दिने अस्पतालको रूपमा विकास गर्ने तयारी भइरहेको छ । यसै आर्थिक वर्षमा सो सेवा सञ्चालन गर्ने गरी तयारी भइरहेको चिकित्सालयका अध्यक्ष नवराज पथिकले जानकारी दिए ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सहित रामेछापमा हाल ६ स्थानमा आयुर्वेद सम्बन्धी सेवा दिने संस्था छन् । मन्थली नगरपालिका–८ मा चिसापानी आयुर्वेद औषधालय सञ्चालनमा छ भने रामेछाप नगरपालिका–७ सुकाजोज, सुनापति गाउँपालिका–४ बेथान, गोकुलगंगा गाउँपालिका–३ रस्नालु र खाँडादेवी गाउँपालिका–८ भदौरेमा नागरिक आरोग्य सेवा केन्द्रहरू सञ्चालनमा छन् ।
दोरम्बा शैलुङ, लिखु तामाकोशी र उमाकुण्ड गाउँपालिकामा अहिलेसम्म सो सेवा पुगेको छैन । संघीय सरकारले यस आर्थिक वर्षबाट सबै स्थानीय तहमा आयुर्वेदिक उपचारको एउटा युनिट राख्ने गरी बजेट विनियोजन गरेकाले बाँकी रहेका गाउँपालिकामा पनि यस वर्षबाट सेवा सञ्चालन हुने छ ।
प्रतिक्रिया