काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ६ अर्ब १३ करोड रुपैयाँभन्दा १.०९ प्रतिशत मात्र बढी हो। आय वृद्धि भए पनि सम्भावित नोक्सानीका लागि प्रावधान (प्रोभिजन) वृद्धि भएकाले नाफा उल्लेख्य बढ्न सकेन। यस अवधिमा बैंकको प्रावधान खर्च ३ अर्ब ६१ करोड रुपैयाँबाट बढेर ४ अर्ब ३० करोड रुपैयाँ पुगेको छ।
बैंकको खुद ब्याज आम्दानी ०.८५ प्रतिशत घटेर १६ अर्ब ७१ करोड रुपैयाँमा झरेको छ भने फि तथा कमिसन आम्दानी २ अर्ब ६८ करोड रुपैयाँबाट बढेर ३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। करिब १ अर्ब ३४ करोड रुपैयाँ नेट ट्रेडिङ आम्दानीसहित बैंकको कुल खुद सञ्चालन आम्दानी १६ अर्ब ९७ करोड रुपैयाँमा सीमित रह्यो, जुन अघिल्लो वर्ष १७ अर्ब ३ करोड रुपैयाँ थियो।
सञ्चालन नाफा २.७५ प्रतिशत घटेर ८ अर्ब ७७ करोड रुपैयाँमा पुगे पनि गैरसञ्चालन खर्च (मुख्यत: कर्जा राइट अफ) १५ करोड ८९ लाख रुपैयाँबाट घटेर १ करोड ६३ लाख रुपैयाँमा सीमित भएकाले खुद नाफा सामान्य मात्रामा बढ्न सफल भएको हो।
बोनस सेयर जारीसँगै प्रतिसेयर आम्दानी (EPS) १६ रुपैयाँ ९९ पैसाबाट घटेर १६ रुपैयाँ २८ पैसा पुगेको छ। २०८२ असार मसान्तसम्म बैंकले नियामकीय जगेडाबाट खुद १ अर्ब १२ करोड रुपैयाँ सञ्चित नाफामा सारेको छ। यसरी ६ अर्ब २० करोड रुपैयाँमध्ये ५ अर्ब ३५ करोड रुपैयाँमात्र वितरणयोग्य देखिन्छ, जसबाट चुक्तापुँजी ३८ अर्ब ११ करोड रुपैयाँमा १४.११ प्रतिशत लाभांश वितरण गर्न सक्ने अवस्था देखिन्छ।
निष्क्रिय कर्जा (NPL) ४.८७ प्रतिशत पुगेको छ भने खुद निष्क्रिय कर्जा १.२३ प्रतिशत छ। बेसरेट ८.०९ प्रतिशतबाट घटेर ५.७६ प्रतिशतमा झरेको छ र ब्याजदर स्प्रेड ३.९९ प्रतिशतबाट घटेर ३.६३ प्रतिशतमा आएको छ। प्राथमिक पुँजी अनुपात १०.३२ प्रतिशतबाट बढेर १०.६६ प्रतिशत पुगेको छ।
एक वर्षको अवधिमा बैंकको निक्षेप ६३ अर्ब रुपैयाँले बढेर ५ खर्ब ५० अर्ब ६३ करोड रुपैयाँ पुगेको छ भने कर्जा ४२ अर्ब रुपैयाँले बढेर ४ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँमा पुगेको छ।
प्रतिक्रिया