काठमाडौं । दरबन्दीको तुलनामा कार्यरत प्रहरीको संख्या क्रमश घट्दै गईरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारीले यस्तो बताएका हुन् ।
बुधबार परिसरले आफ्नो वार्षिक कार्यसम्पादन सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काठमाडौं जिल्लाको लागि नेपाल प्रहरीको कूल दरबन्दी संख्या ४ हजार १६ भएपनि ३२ सय ३३ प्रहरी जनशक्ति आजको दिनमा कार्यरत रहेको भन्दै यसरी हेर्दा ८ सय १५ जना दरबन्दी भएका व्यक्तिहरुको कमि रहेको बताए ।
उनले भने, ‘जनशक्ति तर्फ हेर्ने हो भने काठमाडौं जिल्लाको लागि नेपाल प्रहरीको कूल दरबन्दी संख्या ४ हजार १६ हो र ४ हजार १६ मध्य, ३२ सय ३३ प्रहरी जनशक्ति आजको दिनमा कार्यरत छौ । यसरी हेर्दा ८ सय १५ जना दरबन्दी भएका व्यक्तिहरुको कमि छ । यसमा महिला र पुरुषको अनुपात हेर्ने हो भने ४ सय ९ जना महिला प्रहरी कर्मचारीहरु छन् जुन कुल संख्याको १३ प्रतिशत हो । यसमा दरबन्दी र कार्यरत संख्या हेर्ने हो भने जुनियर अफिसर र जवान फिल्डमा काम गर्ने जनशक्ति हो । दरबन्दीको तुलनामा कार्यरत संख्या क्रमश हेर्ने हो भने घट्दै गईरहेको अवस्था छ । प्रहरी जवान १६ सय ३० जनाको दरबन्दी हो भने अहिले कार्यरत ११ सय २० जना मात्र छन् । फिल्डमा काम गर्नको लागि हाम्रो जनशक्ति कम नै रहेको छ ।’
यस्तै, उनले मिति २०८२।०२।०७ देखि ०९ गतेसम्म टौदहमा नेपाली सेनाको संयोजकत्वमा मनसुनजन्य विपद् तयारीको लागि तीन दिने संयुक्त अभ्यास तथा डेमोस्ट्रेसन गरेको, जेठ २८ देखि ३० गतेसम्म काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सशस्त्र प्रहरी बल नेपालको संयोजकत्वमा संयुक्त अभ्यास गरिएको पनि जानकारी दिएका छन् ।
साथै, जोखिम क्षेत्र पहिचान गरी पत्राचारः काठमाडौं जिल्लाको सडक र नदी किनारामा रहेका खाडल तथा खुल्ला कल्भर्टहरूका कारण हुन सक्ने १३२ वटा जोखिम स्थलको पहिचान, जनशक्ति, साधनस्रोत व्यवस्थापन र परिचालनः खोला र नदि किनाराका प्रहरी इकाईहरूमा पौडी खेल्न जान्ने प्रहरी कर्मचारीहरू परिचालन (१७१ जना), लाईफज्याकेट, रेस्क्यु ट्युव, डोरी लगायतका अत्यावश्यक सामग्रीको बन्दोबस्ती र ७६ वटा राहत केन्द्रहरूको पहिचान गर्ने काम पनि प्रहरी परिसरबाट भएको उनको भनाई छ ।
प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष काठमाडौँमा २ हजार ७२२ वटा आगलागीका घटना भएका छन्, तीमध्ये १ हजार ८७६ वटा घटना (करिब ६९ प्रतिशत) बिजुलीको पोलमा तार सर्ट भएर भएको थियो ।
साथै, प्रहरीको तथ्याङ्कअनुसार ४२ प्रतिशत घटनामा प्रहरी ५ मिनेटभित्र घटनास्थल पुगेको थियो भने २४ प्रतिशत घटनामा ५ देखि १० मिनेटभित्र पुगेको थियो । प्रहरीको हटलाइन ‘१००’ मा गत वर्ष ४ लाख २८ हजारभन्दा बढी कल आएको थियो ।
प्रतिक्रिया