Logo

अर्थ

अपी पावरद्वारा ५० मेगावाटको मर्स्याङ्दी बेसी आयोजना अधिग्रहण



काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना अधिग्रहण गर्ने भएको छ। लमजुङमा अवस्थित यस आयोजना दिव्य ज्योति हाइड्रोपावरले प्रवर्द्धन गर्दै आएको हो।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले दिव्य ज्योति हाइड्रोपावरका सबै सेयर खरिद गरी आयोजना पूर्ण रूपमा अपी पावरको स्वामित्वमा ल्याउने प्रस्ताव पारित गरेको छ। कम्पनी सचिव सुजन अधिकारीका अनुसार आयोजनाको आर्थिक तथा प्राविधिक सम्भाव्यता अनुकूल देखिएपछि अधिग्रहणको निर्णय गरिएको हो।

अधिग्रहणका लागि कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेलाई करारनामाको मस्यौदा तथा सर्त निर्धारण र हस्ताक्षर गर्ने पूर्ण अधिकार प्रदान गरिएको छ।

हाल अपी पावरले जलविद्युत् र सौर्य ऊर्जा गरी ६२.५ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ। कम्पनीका आयोजनामा ४० मेगावाटको माथिल्लो चमेलिया, ८.५ मेगावाटको नौगाड, ८ मेगावाटको अपर नौगाड, ४ मेगावाटको चन्द्रपुर सोलार, र एक/एक मेगावाटका ढल्केबर तथा सिमरा सोलार परियोजना छन्। मर्स्याङ्दी बेसी आयोजना सम्पन्न भएपछि कुल उत्पादन क्षमता ११२ मेगावाट पुग्नेछ।

गत आर्थिक वर्षको चैतसम्म अपी पावरले ३५ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको छ। नौ महिनामा एक अर्ब १९ करोड रुपैयाँ बराबरको बिजुली नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको कम्पनीले जनाएको छ। कम्पनीको प्रतिसेयर आम्दानी ७.७६ रुपैयाँ, नेटवर्थ १०९ रुपैयाँ र चुक्ता पुँजी ६ अर्ब ६७ करोड रुपैयाँ छ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ११ : १५ बजे