काठमाडौं — रुपन्देही जिल्ला अदालतले रास्वपा अध्यक्ष रवि लामिछानेलाई थुनामै राख्ने आदेश गरेको छ। जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार लामिछानेको बिगो तिरेर साधारण तारिखमा रिहा गर्नुपर्ने माग अस्वीकार गरेको हो।
लामिछानेले सुप्रिम सहकारी ठगी मुद्दामा दुई करोड ८४ लाख रुपैयाँको बैंक ग्यारेन्टी पेश गर्दै सहकारी ऐनको दफा १३१(क) अनुसार बिगो तिरेर रिहा गरिनुपर्ने माग गरेका थिए। तर अदालतले उक्त दफा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियुक्तमा लागू नहुने भन्दै निवेदन खारेज गरेको हो।
यसअघि रुपन्देही जिल्ला अदालतका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले लामिछानेलाई एक करोड धरौटीमा थुनामुक्त गर्ने आदेश दिएको थियो। सो आदेश उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो।
उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिए पनि सर्वोच्चले उच्चको आदेश सदर गरेको थियो। लामिछानेविरुद्ध रुपन्देहीमा सहकारी ठगी र संगठित अपराधको अभियोग दायर गरिएको छ।
प्रतिक्रिया