Logo

समाचार

मधेशमा साढे २० प्रतिशत कम धान रोपाइँ



काठमाडौं । यसवर्ष साउन २५ सम्म मधेशमा करीब साढे २० प्रतिशत कम धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार गत वर्षको तुलनामा मधेशमा हाल सम्म २०.४६ प्रतिशत कम धान रोपाइँ भएको हो ।

गत वर्ष मधेशमा यस अबधि सम्म ९७ प्रतिशत धान रोपाइँ सकिएको थियो । तर, यसवर्ष मधेशमा हाल सम्म ७६.५४ प्रतिशत मात्रै धान रोपाइँ सकिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयका अनुसार सूदूरपश्चिम प्रदेशमा भने यसवर्षको धान रोपाइँ सकिएको छ । हाल सम्म सूदूरपश्चिममा शत प्रतिशत रोपाइँ सकिएको हो । यस प्रदेशमा १ लाख ७५ हजार ६५२ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ ।

कर्णाली प्रदेशमा हाल सम्म ९८.४ प्रतिशत धान रोपाइँ सकिएको छ । यस प्रदेशमा ४१ हजार हेक्ट जमिनमा धान खेती गरिन्छ । गत वर्षको यस अवधिसम्म भने यस प्रदेशमा हालसम्म करिब ९९ प्रतिशत रोपाइँ सकिएको थियो ।

लुम्बीनी प्रदेशमा हाल सम्म ९८.०७ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधि सम्म लुम्बीनीमा ९८ प्रतिशत धान रोपाइँ भएको थियो । यस प्रदेशमा कुल ३ लाख २ हजार ८८९ हेक्टर जमिनमा धानखेती हुने गरेको छ ।

गण्डकी प्रदेशमा हाल सम्म ९२.७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । गत वर्ष यस अवधिसम्म यस प्रदेशमा ९७ प्रतिशत मात्रै धान रोपाइँ सकिएको थियो । यस प्रदेशमा कुल ९४ हजार १८२ हेक्टरमा धानखेती हुने गरेको छ ।

बागमती प्रदेशमा हाल सम्म ९३.५६ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधि सम्म यहाँ ९९ प्रतिशत रोपाइँ भएको थियो । यस प्रदेशमा कुल १ लाख २० हजार ५४५ हेक्टर जमिनमा धानखेती हुने गरेको छ ।

कोशी प्रदेशमा हाल सम्म ९४.४२ प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्षको यस अबधि सम्म यस प्रदेशमा ९८ प्रतिशत धान रोपाइँ सकिएको थियो । यहाँ  कुल २ लाख ७६ हजार ३८७ हेक्टर जमिनमा धानखेती हुने गरेको छ । यहाँ गतवर्ष यस अवधि सम्म १३.७ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

मन्त्रालयका अनुसार देशभर १३ लाख ७८ हजार ९६६ हेक्टर जमिनमा बर्षे धान खेती हुने गरेकोमा हालसम्म जम्मा १२ लाख ५४ हजार ८८६ हेक्टर जमिनमा रोपाइँ सकिएको हो । समग्रमा गतवर्षको तुलनामा भने यसवर्ष हाल सम्म ७ प्रतिशत धान रोपाइँ कम भएको छ । गत वर्ष हाल सम्म देशभर ९८ प्रतिशत धान रोपाइँ सकिएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ६ : २३ बजे