Logo

समाचार

गाईजात्रा उत्सवमा ‘प्राइड परेड’ : उठ्यो पहिचान र अधिकारको आवाज



काठमाडौं । अधिकार र पहिचान स्थापित गराउने उद्देश्यले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायहरुले गाईजात्राका अवसरमा ‘प्राइड परेड’ प्रदर्शन गरेका छन् ।

ब्लु डायमन्ड सोसाइटीको अगुवाइमा काठमाडौंको नक्साल नारायणचौरमा भेला भएका समूदायका व्यक्तिहरुले विभिन्न जातजातिका पोशाक र पश्चिमा फेसनमा सजिएर प्राइड परेडमा सहभागिता जनाएका हुन् ।

सोसाइटीले २०५९ सालदेखि गाईजात्रा उत्सवलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले स्वतःस्फूर्त रूपमा मनाउँदै आएका छन् । आइतबारको प्रदर्शनमा बर्षभरी दिवगंत भएका आफ्ना समूदायका व्यक्तिहरुको स्मृतिमा श्रद्धान्जली अर्पण गरिएको थियो ।

सोसाइटीकी निवर्तनमान अध्यक्ष एवम सल्लाहकार पिंकी गुरुङले गाईजात्रालाई आफूहरुले अस्तित्व र स्वतन्त्रताको उत्सवका रुपमा २२ बर्षदेखि मनाउँदै आएको बताइन् ।

‘गाईजात्रा हाम्रा लागि केवल शोक वा मृत स्मृतिको दिन मात्र होइन । अधिकार, स्वतन्त्रता र अस्तित्व स्थापित गराउने एउटा माध्यम पनि हो । खुल्न नसकेका धेरै साथीहरु गाईजात्रामा आएर खुल्नुहुन्छ त्यसैले यो लैङ्गिक पहिचान प्रदर्शन गर्ने अवसरपनि हो,’ गुरुङले भनिन् ।

गुरुङका अनुसार यस अवसरमा हामी नाचगान, हाँसो, व्यङ्ग्य साथै सांस्कृतिक विविधता झल्कने प्रदर्शनी गर्ने गरेका छौं । विभिन्न दातृ निकायहरुको सहयोगमा आयोजना गरिएको प्राइड परेड यात्रा काठमाडौंका नारायण चौरबाट सुरु भएर दरबारमार्ग, ठमेल, ज्याँठा, ठहिटी हुँदै बसन्तपुरमा पुगेर दिप प्रज्वलन गरी समापन भएको थियो ।

कार्यक्रममा  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले समूदायका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै काठमाडौँको सञ्चयकोष भवनबाट  मायाको पहिचान नेपाल, लिड नेपाल, इन्क्लुसिभ फोरम, इन्क्लुसिभ ग्यालेक्सी रेस्टुरेन्ट, समर्पण सभ्य समाजलगायतका सङ्घसंस्थाले गाईजात्रा पर्व मनाएका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ७ : ३३ बजे