रामेछाप । मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले पर्यटन विकासको काम राज्यको तर्फबाट मात्र गरेर सम्भव नहुने बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औँ स्थापना दिवसका अवसरमा शनिबार मन्थलीमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले पर्यटन प्रवर्धनको लागि राज्य, निजी क्षेत्र र समुदायको उत्तिकै सक्रिय भूमिका रहेको बताए ।
रामेछाप र मन्थलीमा पर्यटनको पर्याप्त क्षेत्र भएको बताउँदै श्रेष्ठले यसको विकास र व्यवस्थापनको लागि काम गर्न आवश्यक रहेको बताए । ‘भएका संरचनाको संरक्षण र व्यवस्थापनमा हामी सबै लाग्न आवश्यक छ’, उनले भने ।
जनजातिको बसोबास भएका ठाउँमा कला, संस्कार र संस्कृतिको संरक्षण गर्न सबै लाग्नु पर्नेमा उनले जोड दिए । यसो गर्न सक्दा मात्र पर्यटन प्रवर्धनमा टेवा पुग्ने उनले बताए ।
मन्थली विमानस्थलबाट सोलुको उडानको दिगोपना गर्न सके मात्रै पनि मन्थलीमा पर्यटन विकासमा सहयोग पुग्ने उनको धारणा छ । तर त्यसमा सोचेजस्तो सफलता प्राप्त हुन नसकेको उनले बताए । सरोकारवाला निकायमा यस बारेमा पहल गरिएको भएपनि प्रतिफल प्राप्त नभएको उनले सुनाए ।
पर्यटन प्रवर्धनका लागि ट्ररावल एजेन्सीको पनि त्यतिकै भूमिका हुने उनले बताए । उनीहरूलाई पनि सकारात्मक भूमिका निर्वाह गरिदिन उनले आग्रह गरे । कार्यक्रममा रामेछापका दुई जना पत्रकारलाई सम्मान गरिएको थियो । उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार २०८२ पत्रकार ज्ञानु श्रेष्ठलाई र खोज पत्रकारिता वर्ष पुरस्कार २०८२ पत्रकार बद्री नयाँघरेलाई प्रदान गरिएको छ ।
कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ र फोनिज बाग्मती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले पत्रकार श्रेष्ठलाई नगद १० हजार र नयाँघरेलाई नगद ५ हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरे । हालसम्म उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार सातजना र खोज पत्रकारिता वर्ष पुरस्कार चार जनालाई प्रदान गरिसकिएको फोनिज रामेछापका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया