काठमाडौं । भारतको उत्तराखण्डको उत्तरकाशीस्थित धराली गाउँमा साउन २० गते आएको भीषण बाढीमा मृत्यु हुने र उद्धार गरिएका व्यक्तिहरूको सूचीमा हालसम्म कुनै नेपालीको नाम छैन। नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतले दिएको पछिल्लो विवरणमा पाँच जनाको मृत्यु भएको र सयौँको उद्धार भए पनि नेपाली नागरिक सूचीकृत भएका छैनन्।
दूतावासका उपनियोग प्रमुख सुरेन्द्र थापाले खोज तथा उद्धार कार्य जारी रहेको र हालसम्म नेपालीसम्बन्धी अप्रिय सूचना प्राप्त नभएको बताए। तर धरालीमा काम गर्ने २२ जना नेपाली सम्पर्कविहीन छन्। तीमध्ये धादिङका चार, बर्दियाका चार, जुम्लाका एक र जाजरकोटका १३ जना छन्।
भारतीय मिडिया रिपोर्ट अनुसार बाढीपछि धरालीबाट ७०, हर्षिलबाट १९० र गंगोत्रीबाट २७४ जनाको उद्धार गरिएको छ। नौ भारतीय सैनिकसहित ५० जनाभन्दा बढी अझै बेपत्ता छन्। उत्तराखण्ड राज्य सरकार, जिल्ला प्रशासन र विपद् व्यवस्थापन विभागले उद्धार र राहत कार्य जारी राखेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत बाढीमा परेका नेपालीहरूको उद्धारका लागि तत्काल कूटनीतिक पहल भएको जनाउँदै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि बेपत्ता नेपालीको खोजीका लागि भारतीय पक्षसँग समन्वय गर्न दूतावासलाई निर्देशन दिएकी छन्।
भारतीय मिडिया अनुसार साउन २० गते दिउँसो १:४५ बजे ‘क्लाउड ब्रस्ट’ का कारण खीरगंगा नदीमा आएको आकस्मिक बाढीले ३४ सेकेन्डमै धराली गाउँलाई पुरेको थियो।
प्रतिक्रिया