सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले संघीय सरकारलाई दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पुनः सर्ने स्थिति नआउने गरी स्पष्ट रुपमा मिति तोक्न आग्रह गरेका छन्।
बिहीबार युवा तथा खेलकुदमन्त्री तेजु चौधरीसँग सुर्खेतमा भएको छलफलमा मुख्यमन्त्री कडेलले प्रदेश सरकारको कारणले प्रतियोगिता प्रभावित नहुने स्पष्ट पार्दै, पटक–पटक मिति तोकिएर पनि प्रतियोगिता हुन नसक्दा नकारात्मक सन्देश गएको उल्लेख गरे।
“हामी कर्णाली प्रदेशको तर्फबाट पूर्ण रूपमा प्रतिबद्ध छौं, तयारी गरिरहेका छौं,” उनले भने, “तर आयोजक संघीय सरकार हो। यसपटक पनि मिति तोकेर प्रतियोगिता नहुने हो भने अहिले नै विचार गरेर मिति तोक्नुपर्छ।”
मुख्यमन्त्री कडेलले मिति तोक्दा संघीय र प्रदेश सरकारको जिम्मेवारी स्पष्ट हुने गरी तालिका बनाउनु पर्नेमा जोड दिए। साथै, अघिल्लो तयारी प्रक्रियामा देखिएको कमजोरी दोहोरिन नदिन सचेत रहन आग्रह गर्दै जम्बो उपसमिति गठनको अभ्यास नदोहोर्याउन पनि सचेत गराए।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिता समयमै सम्पन्न गर्न निर्देशन दिइसकेको स्मरण गराउँदै सोही spirit मा काम गर्न संघीय सरकारलाई सुझाव दिए।
छलफलमा उनले प्रदेश सरकार प्रतियोगिता आयोजनाप्रति पूर्णतः केन्द्रित रहेको बताउँदै रिक्त प्रदेश खेलकुद परिषद् पदहरूमा नियुक्ति प्रक्रिया अघि बढाइएको र रंगशाला तथा अन्य पूर्वाधार निर्माण तत्काल अघि बढाइने जानकारी गराए।
मुख्यमन्त्री कडेलले अधिकांश खेलहरूका लागि कर्णाली प्रदेशले पूर्वाधार तयार गरिसकेको भन्दै बाँकी पूर्वाधार निर्माणमा संघीय सरकारले सहजीकरण गर्नुपर्ने बताए।
युवा तथा खेलकुदमन्त्री चौधरीले प्रतियोगिता अब मिति नसर्ने गरी तय हुने जानकारी दिँदै सुर्खेत र वरपरका क्षेत्रहरूमा २४ खेलको आयोजना हुने तयारी भइरहेको बताए।
छलफलमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला मन्त्री राजीवबिक्रम शाह, सामाजिक विकास मन्त्री धनश्याम भण्डारी लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया