राजगढ, सप्तरी — सप्तरीको राजगढमा प्रहरीले चलाएको गोली लागी एक युवकको मृत्यु भएपछि स्थानीयस्तरमा तनाव चुलिएको छ। मंगलबार राति प्रहरीले चलाएको गोलीबाट घाइते भएका लालुप्रसाद यादवको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा बुधबार मृत्यु भएपछि गाउँमा आक्रोश फैलिएको हो।
घटनापछि स्थानीयवासीले दीपेन्द्र यादवको संयोजकत्वमा गाउँपालिकास्तरीय संघर्ष समिति गठन गरेका छन्। संघर्ष समितिले बुधबार साँझ प्रमुख जिल्ला अधिकारीलाई चारबुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवलाई निलम्बन गरी कर्तव्य ज्यान मुद्दा दर्ता गर्न, प्रहरी उपरीक्षकमाथि तत्काल विभागीय कारबाही गर्न, घटना छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न र मृतक यादवलाई सहिद घोषणा गर्दै परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ।
साथै, सीमावर्ती क्षेत्रमा प्रहरीद्वारा सिर्जना भइरहेको आतंक अन्त्य गरी शान्ति सुरक्षा कायम गर्न पनि माग गरिएको छ। माग पुरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघर्ष समितिले चेतावनी दिएको छ।
प्रहरीका अनुसार भारततर्फ मदिरा तस्करी भइरहेको सूचनाका आधारमा नियन्त्रणका लागि गएको टोलीमाथि ढुङ्गामुडा भएपछि आत्मरक्षार्थ गोली चलाउनुपरेको हो। तर मृतकका परिवारले यादवलाई नियन्त्रणमा लिएर गोली प्रहार गरिएको आरोप लगाएका छन्।
यसैबीच, सप्तरी उद्योग वाणिज्य संघले पनि घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ। संघले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै दोषीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही नगरे थप आन्दोलन गर्ने चेतावनी दिएको छ।
प्रतिक्रिया