Logo

राजनीति

रवि लामिछानेले थुनामुक्तिको माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दर्ता


२२ श्रावण २०८२, बिहिबार  

92
Shares

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले थुनामुक्त गराउन माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गरेका छन्। लामिछाने अहिले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोगमा रूपन्देही कारागारमा थुनामा छन्।

यसअघि जिल्ला अदालतले उनलाई थुनाबाहिर राखेर मुद्दा चलाउने निर्णय गरेको थियो। तर, उच्च अदालत दाङको बुटवल इजलासले उक्त निर्णय उल्टाउँदै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशलाई सर्वोच्च अदालतले सदर गरेपछि उनी कारागारमा छन्।

निवेदनमा लामिछानेले आफूलाई राजनीतिक प्रतिशोध स्वरूप थुनामा राखिएको दाबी गरेका छन्। साथै, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका छन्। उनले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आफ्नो भागको बिगो बराबर रकम बैंकमा जमानत राखेर रिहा हुन पाउने माग गरेका हुन्।

अदालतले लामिछानेको निवेदनमा सुनुवाइका लागि मिति तोक्ने तयारी गरेको छ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  ११ : ५० बजे