Logo

समाचार

कार्यालय सहयोगीविरुद्ध घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर



काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कास्कीमा कार्यरत कार्यालय सहयोगी दीपक पौडेलविरुद्ध घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले पौडेललाई सेवा प्रवाहका क्रममा सेवाग्राहीसँग ७ हजार रुपैयाँ घुस लिएको आरोपमा रंगेहात पक्राउ गरेको हो। उनले अनलाइन फारम भरिदिने, लिखित परीक्षा पास गराइदिने र ट्रायल परीक्षामा पनि पास गरिदिने आश्वासन दिँदै घुस मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको आयोगको दाबी छ।

विशेष अदालतमा बुधबार दायर गरिएको मुद्दामा आयोगले बिगो बराबर जरिवानासहित कैद सजायको माग गरेको छ। आयोगका अनुसार, पौडेलले सवारी चालक अनुमतिपत्रको म्याद नपुगी फारम भरेकोलगायतका अनियमितता गरेका थिए।

अख्तियारले यसलाई बदनियतपूर्वक गरिएको कार्य भन्दै कानुनी कारबाही अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ७ : ०९ बजे