इस्लामाबाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीको दोस्रो वार्षिकोत्सवको अवसरमा उनकी पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)ले आइतबारदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको छ।
पीटीआईका वरिष्ठ नेता असद कैसरका अनुसार, अगस्ट ५ बाट सुरु हुने ‘फ्री इमरान’ आन्दोलन अन्तिम नभई निरन्तर चल्नेछ। उनले पार्टीका प्रान्तीय नेताहरूलाई र्याली, जनचेतना कार्यक्रम र अन्य विरोध गतिविधि सञ्चालन गर्न निर्देशन दिएका छन्।
सरकारले आन्दोलनलाई ध्यानमा राख्दै विभिन्न क्षेत्रमा सुरक्षा कडा बनाएको छ। रावलपिन्डी लगायतका जिल्लामा धारा १४४ लागू गरिएको छ। जियो न्यूजका अनुसार, रावलपिन्डीमा चारभन्दा बढी व्यक्तिको जमघट, र्याली वा प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ।
पीटीआईका अनुसार, आन्दोलन सुरु हुनु अघि नै पार्टी कार्यकर्ता तथा सांसदहरूलाई लक्षित गर्दै पञ्जाब र पाकिस्तान–नियन्त्रित कश्मीरमा छापा मारिएको र थुप्रै व्यक्ति पक्राउ गरिएको छ। यद्यपि, गिरफ्तारहरूको संख्या पुष्टि गर्न विवरण संकलन भइरहेको जनाइएको छ।
इमरान खानलाई २०२३ अगस्ट ५ मा सरकारी उपहारहरू अवैधरूपमा बिक्री गरेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाइएको थियो। सोही आधारमा उनलाई लाहोरबाट गिरफ्तार गरिएको हो।
प्रतिक्रिया