काठमाडौं । पछिल्लो शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को प्रदर्शन आजबाट स्थगित गरिएको छ। चलचित्रले पर्याप्त र उपयुक्त शो समय नपाएको भन्दै निर्माण पक्षले हलबाट चलचित्र उतारेको हो।
निर्माता कम्पनी रेबेल फिल्म्स प्रालिले सोमबार एक विज्ञप्ति जारी गर्दै ‘रियाल रिङ्गेट’ लाई दर्शकबाट सकारात्मक प्रतिक्रिया आए पनि चलचित्रलाई ‘प्राइम टाइम’ शो नदिइएको गुनासो गरेको छ। निर्माण पक्षका अनुसार चलचित्रको प्रचारप्रसार तथा दर्शकको मागका बावजुद पनि हलहरूले शो समयको व्यवस्था नगरेकाले प्रदर्शन स्थगन गर्नुपरेको हो।
विभोर पोखरेल निर्देशित उक्त चलचित्र खाडी मुलुकहरूमा रोजगारीका लागि गएका नेपालीहरूको जीवन संघर्षमा आधारित छ। चलचित्रमा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, र विशाल थापालगायतको अभिनय रहेको छ।
निर्माता कम्पनीले आगामी दिनमा फेरि उपयुक्त समय पाएपछि चलचित्र पुनः प्रदर्शनमा ल्याउने संकेत पनि दिएको छ।
प्रतिक्रिया