Logo

मुख्य समाचार

सुशासन प्राप्तिका लागि व्यक्ति परिवर्तनभन्दा प्रणाली सुधार आवश्यक : महानिर्देशक तिवारी



काठमाडौं । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सुशासन प्राप्तिका लागि व्यक्ति परिवर्तनभन्दा प्रणाली सुधार आवश्यक रहेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित ‘अध्यागमन सुधार तथा प्रशासनसँग सम्बन्धित समसामयिक विषयमा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा’ बोल्दै तिवारीले भिजिट भिसामा देखिएको अनियमिततालाई मानव तस्करीसँग जोडेर बुझ्नु गलत हुने तर्क राखे ।

‘संसारमा कहीँ पनि व्यक्ति राम्रो खोजेर सुशासन हुँदैन, प्रणाली राम्रो बनाउने हो,’ उनले भने, ‘हामीले यसलाई (भिजिट भिसा प्रकरणलाई) मानव बेचबिखन भनिरहेका छौँ, तर यो कुशासन हो, मानव तस्करी होइन । कानुनले पनि यसलाई फरक रूपमा परिभाषित गरेको छ ।’

महानिर्देशक तिवारीले भिजिट भिसामा विदेश गएका सबैलाई एउटै दृष्टिकोणले हेर्नुपर्नेमा जोड दिए । ‘कोही भिजिट भिसामा गएर एनआरएनको ठुलो पदमा पुग्छ र हामी जाँदा उपहार दिन सक्छ भने त्यो राज्यको सम्पत्ति हो,’ उनले भने, ‘तर कोही काम नपाएर दुःखमा प¥यो भने हामी उसलाई फरक नजरले हेर्छौँ। यस्तो दृष्टिकोण बदलिनुपर्छ ।’

उनले अध्यागमन प्रणालीलाई पारदर्शी, सुशासनयुक्त र नागरिकमैत्री बनाउन विभाग प्रयासरत रहेको जानकारी पनि दिए ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ८ : ३० बजे