Logo

अर्थ

इप्पानद्वारा दोहोरो ISIN व्यवस्था खारेजीको माग, १ खर्ब २८ अर्बको पुँजी जोखिममा


१६ श्रावण २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले धितोपत्र बजारमा शेयर अभौतिकीकरणका क्रममा प्रवर्द्धक र सर्वसाधारणका लागि छुट्टाछुट्टै International Securities Identification Number (ISIN) राख्ने सिडिएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) को प्रस्ताव फिर्ता लिन माग गर्दै अर्थमन्त्रीसहित चार निकायको ध्यानाकर्षण गराएको छ।

इप्पानले अर्थ मन्त्रालय, संसदको अर्थसमिति, नेपाल धितोपत्र बोर्ड (सेबोन) र सिडिएससीलाई बुझाएको ध्यानाकर्षणपत्रमा प्रस्तावित दोहोरो ISIN व्यवस्थाले लगानीकर्तामा अन्यौलता, निजी क्षेत्र र वैदेशिक लगानीमा निराशा तथा नेपालको पुँजी बजारमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने चेतावनी दिएको छ।

इप्पानका अध्यक्ष गणेश कार्कीले दोहोरो ISIN लागू भएमा शेयर कारोबारमा संकुचन आउनुका साथै सरकारको आम्दानीमा समेत गिरावट आउने बताए। उनले अहिले एकै ISIN मा संस्थापक र सर्वसाधारणको शेयर रहेको अवस्था नै बजारको गतिशीलताको आधार रहेको दाबी गरे।

संस्थाका उपाध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा क्षेत्रमा संलग्न हजारौं कम्पनी र लाखौं लगानीकर्तामा प्रत्यक्ष असर पर्ने उल्लेख गर्दै आगामी ऊर्जा आयोजना प्रभावित हुने, लगानी रोकिने तथा २८,५०० मेगावाटको उत्पादन लक्ष्यमा अवरोध आउने चेतावनी दिए।

महासचिव बलराम खतिवडाका अनुसार प्रस्तावित व्यवस्थाले ऊर्जा मात्र नभई पर्यटन, स्वास्थ्य, पूर्वाधारजस्ता निजी क्षेत्रका उत्पादनमूलक उद्योगहरू पनि प्रभावित हुनेछन्। उनका अनुसार आईपीओ जारी गरिसकेका, लकिङ अवधि सकिन लागेको वा पाइपलाइनमा रहेका कम्पनीहरू समेत नोक्सानमा पर्ने छन्।

इप्पानले प्रस्तुत गरेको तथ्यांक अनुसार, हाल लकिङ अवधिमा रहेका ५८ उद्योगको ८७ अर्ब रुपैयाँ, ऊर्जा क्षेत्रका ४७ कम्पनीको ५३ अर्ब रुपैयाँ, र आईपीओ पाइपलाइनमा रहेका ४३ कम्पनीको ४१ अर्ब रुपैयाँ गरी कुल १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको संस्थापक शेयर बन्धकमा पर्ने जोखिम रहेको छ।

इप्पानले प्रस्तावित दोहोरो ISIN व्यवस्था खारेज गर्न माग गर्दै यसले नेपालको पुँजी बजार, वैदेशिक लगानी नीति र आर्थिक सुधार योजनामै गम्भीर असर पार्ने चेतावनी दिएको छ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १ : ५२ बजे