काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोदोको उत्पादन बढाउन र कोदोबाट बनेका परिकार उपभोग गर्न आम सर्वसाधारणलाई आग्रह गरेका छन्। कोदो दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोदो परम्परागत खाद्यान्न मात्र नभई पोषणीय दृष्टिले पनि अत्यन्त उपयोगी रहेको बताए।
उनले कोदोमा ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले मधुमेहका बिरामीका लागि उपयोगी हुने र यसमा पाइने प्रशस्त फाइबरले हृदय स्वास्थ्य सुधार गर्न सघाउने उल्लेख गरे। ओलीले भने, “कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र होइन, यसको पोषणीय महत्त्व छ।”
प्रधानमन्त्रीले सिँचाइबिना नै उत्पादन गर्न सकिने यो गुणकारी खाद्यान्नलाई प्रवर्द्धन गर्न सरकारले साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’को रूपमा मनाउने निर्णय गरेको जानकारी समेत दिए।
उनले जनस्तरबाट कोदो उत्पादन र उपभोगमा जोड दिन आह्वान गर्दै भने, “कोदो उत्पादन बढाऔं, कोदोका परिकारहरू उपभोग गरौं।”
प्रतिक्रिया