Logo

Breaking News 1

‘भारतमा धेरै नेपालीहरु बन्धक छन्, दुवै सरकार गम्भीर हुनुपर्छ’



पछिल्लो समय चेन मार्केटिङ हिसाबले नेपालीहरुलाई फसाउने काम भइरहेको छ । उनीहरुलाई भारत बोलाउने अनि सुरुमा मोटिभेट गरेजस्तो गर्ने त्यसपछि बन्धक सरह बनाउने काम भइरहेको छ । साथै शारीरिक र मानसिक रुपमा टचर दिने, त्यसपछि पैसा असुल गर्ने र उनीहरुमार्फत नै आफ्नो आफन्तहरु बोलाउन लगाउने गरिएको छ ।
नवीन जोशी
निर्देशक, किन इन्डिया(नयाँदिल्ली)

नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ छ । नेपालको तुलनामा भारत विशाल देश हो । त्यसैले नेपालीहरुको अध्ययन एवम रोजगारीको गन्तव्य पनि हो । दुई देशबीच रोटी–वेटीको सम्बन्धदेखि व्यापार व्यवसाय गर्न, पढ्न वा रोजगारी गर्न जाने ठाउँ समेत हो । तर धेरैजना नेपाली जोखिमको अवस्थामा छन् । महिला र बालबालिका अझ बढी जोखिममा पर्ने गरेका छन् । पछिल्लो समय फरक ट्रेन चलिरहेको छ । जुन निकै चुनौतिपूर्ण र खतरापूर्ण छ ।

पछिल्लो समय चेन मार्केटिङ हिसाबले नेपालीहरुलाई फसाउने काम भइरहेको छ । उनीहरुलाई भारत बोलाउने अनि सुरुमा मोटिभेट गरेजस्तो गर्ने त्यसपछि बन्धक सरह बनाउने काम भइरहेको छ । साथै शारीरिक र मानसिक रुपमा टचर दिने, त्यसपछि पैसा असुल गर्ने र उनीहरुमार्फत नै आफ्नो आफन्तहरु बोलाउन लगाउने गरिएको छ । यस्तो धन्दा एकदमै धेरै फस्टाइरहेको छ । यो धन्दा नेपालमै पनि हुने गरेको छ । केही दिन अघिमात्र सुर्खेतबाट १४ जनालाई पक्राउ गरिएको छ भने चितवनबाट पनि १८ जनालाई पक्राउ गरिएको छ ।

तर भारतमा यस्तै किसिमको धन्दा भास्ट रुपमा चलिरहेको छ । त्यस्तै घटनामा फसेका ५८ जनालाई केही साताअघि उद्धार गरेका थियौँ । त्यो सबैलाई अवगत नै छ । यो घटना पत्ता लगाउने सिलसिलामा एक जनाको मृत्यु भएपछि धेरै कुरा थाहा पाएका हौं । त्यसपछि धेरै ठाँउलाई रेट गर्दैगर्दा ५७ जनालाई निकालेर नेपालसम्म सुरक्षित रुपमा ल्याएका थियौं । यस्तो धन्दामा फसेका अरु पनि धेरैजना नेपाली छन् भन्ने कुरा आएको छ ।

फसाउने तरिकापनि काइदाको छ । सुरुमा आफू फसेको नै पत्तो नपाउने रहेछन् । आफूमार्फत बोलाइएका व्यक्तिबाट टाढा राखिदो रहेछ । कति कमाउँछ भनेर टाढा बनाउन लगाइने रहेछ । राम्रो पैसाको लोभ देखाउने र उनीहरुलाई बोलाउने अनि बोलाइसकेपछि बन्धक बनाउने काम भइरहेको छ । बन्धक बनाएर उनीहरुसँग पैसा माग्ने, अरु मान्छेहरु बोलाउन माहोल बनाउने, बन्धक बनाइएकाहरुको बे्रन वास गरेर पैसा असुल्ने काम अहिले भइरहेको छ ।

आकर्षक पैसा हुने रोजगारीको प्रलोभन देखाएर जोखिममा पर्नु भन्दा पनि ठूलो सपना देखाउने गरिएको छ । गाडी र बंगलाको सपना देखाउने गरिएको छ । यस्ता घट्नाहरु हामीले धेरैजसो विहारमा फेला पारेका छौं । दुइ महिना पहिला ५ सय ६८ जनालाई उद्धार गरिएको थियो । जसमध्ये नेपाली पनि थिए र भारतीय पनि थिए । भारतका राजिस्थान, पन्जाब, हरियाणा जस्ता टाढाटाढा राज्यहरुका व्यक्तिहरु थिए । त्यस क्रममा २८ वर्षभन्दा कम उमेरकालाई बन्धकजस्तै बनाएर राखिएको रहेछ । र त्यसबेला पनि हामीले नै उद्दार गरेर नेपालसम्म ल्याएका थियौं ।

त्यसपछि फेरी ५८ जना रुद्रपुर एवम काँसीपुर पुगेर उद्धार गरेका हौं । अहिलेपनि बिहारको विभिन्न ठाउँमा यस्तो धन्दा चलिरहेको छ । त्यसका लागि एउटा कुनै फर्म वा कम्पनी दर्ता गरिदो रहेछ । दर्ता गरिएको कम्पनी कानुनी रुपमा राम्रो देखिएपनि कार्य क्षेत्रमा फरक हुने रहेछ । त्यस्ता कम्पनीको डकुमेन्टमा सबै उल्लेख भएपनि कार्यक्षेमा लेखिएको हुँदैन् । मानिसहरुलाई देखाउँदा दर्ता छौं भनेर देखाइएको हुन्छ । तर काम चाँही अर्कै गर्ने रहेछन् । मानिसलाई लालच देखाउने, बोलाउने र बन्धक बनाएर पैसा असुल्ने गरिएको छ ।

लोभ लालच देखाएर ल्याएपनि खादा–माला लगाउने, मोटिभेसनल स्पिकरहरु ल्याएर स्पिच दिने, काउन्सिलिङ गर्ने व्यक्तिहरुलाई समेत ल्याएर ठूलै काम गराउनेजस्तो गरी प्रलोभनमा पारिने रहेछ । बिहान ४ बजे उठाएर पाँच घण्टासम्म हिडाउने अर्थात केहीपनि सोच्न भ्याउन नसक्नेगरी व्यस्त बनाइदो रहेछ । भारतमा पछिल्लो समय यसरी नै नेपाली युवाहरुलाई फसाउने र बन्धक बनाउने ट्रेन चलिरहेको छ ।

अवैधानिक रुपमा भारत हुँदै तेस्रो मुलुक लैजाने, खास गरेर महिलाहरुलाई खाडी पुर्याएर फसाउने पनि गरिएको छ । जसका लागि भारतलाई प्रयोग गर्ने गरिएको छ । हामीले २०१७ र ०१८ मा अलग अलग ठाउँबाट थुप्रै उद्दारहरु गरेका पनि छौं । यो श्रृखंला हाल कम भएपनि भिजिट भिसा सुरु भएको छ । यसकै माध्यमबाट भारतलाई नै प्रयोग गरेर पठाउन सुरु गरिएको छ ।

भारत हुँदै अर्को देश लैजान भनेर भारतमा नौं महिनादेखि बन्धक बनाइएका तीन जना महिलाहरुलाई लिएर यस पटक नेपाल आएको हुँ । दुई तीन वर्ष पहिला पासपोर्ट लिएर १४ लाख देखि २८ लाखसम्म बुझाइएको, त्यसपछि उनीहरुलाई भारत लगेर पनि पैसा असुल्ने गरेको पाइयो । पीडितले पैसा दिन छाडेपछि फ्ल्याटमा लगेर बन्धक बनाएर राखेको पाइयो । फ्ल्याटमा नौं महिनासम्म बन्धक बनाएर राखिसकेपछि एकजनाले इमेल गरेका आधारमा हामीले उहाँहरुका बारेमा थाहा पाएका हौं ।
दिल्ली प्रहरी, दूताबासलगायत संघ संस्थाहरुमा इमेल भइसकेपछि लगभग २४ देखि ४८ घण्टा भित्रमा तीन जनालाई उद्धार गरेका हौं । हाल नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोमा मुद्दा दर्ता गरिएको छ ।

बेचविखनमा परेका, उच्च जोखिममा परेका सबै मानिसहरु महिला–पुरुष भन्ने छैन, सबै बन्धक बनाइएका हुन्छन् । उनीहरुलाई सहायत हामीले गरिरहेका छौं । वा जोखिममा परेकालाई उद्दार गर्ने, भारतबाट नेपाल आएर हराएका बालबालिकाहरु उद्धार गर्ने गरेका छौं । खासगरी यतिबेला पुरुषहरु बन्धक बनाइने प्रचलन बढिरहेको छ । केही समय पहिला कास्मिरमा बन्धक बनाइएकालाई उद्दार गरिएको थियो । एकपटक ३५ जना, अर्काे पटक २८ जनालाई उद्दार गरेका थियौं । अहिले मानव जुनसुकै समयमा बेचविखनमा पर्ने अवस्था छ ।

‘किन इन्डिया’ भन्ने हाम्रो संस्थाको संरचना भनेको दिल्लीमा छ । नेपालका संस्थाहरुसँग सहकार्य पनि गरिरहेका छौं । उद्दार गरेर ल्याइसकेपछि नेपाल सरकारकै मातहतमा उनीहरुलाई पुनःस्थापना गर्ने वा पढ्न, सीप सिक्न, वा कानूनी सहयोगका लागि संस्थाहरु र प्रशासनहरुसँग मिलेर अगाडि बढ्न सहज बनाउने काम गरिरहेका छौ ।

समाजमा कुनै १४/१५ वर्षको बालिका हराएकी छन् भने हाम्रो सोच कसैसँग भाग्यो वा विहे गर्यो भन्ने छ । तर त्यो सोच गलत छ । कसैको प्रलोभनमा परेर फसेको पनि हुनसक्ने संभावना प्रवल छ । उद्धार गरेर नेपाल आइसकेपछि पनि उनीहरुलाई गर्ने व्यवहार त्यति राम्रो भएको पाइँदैन् । यस्ता कुराहरुमा सुधार गर्नुपर्ने देखिन्छ ।

यस्ता गम्भीर प्रकृतिका घटनाहरु भइरहेको देख्दा सरकार आफैं गम्भीर बन्नुपर्ने देखिन्छ । जिटुजी अर्थात सरकार सरकारबीच कुनै सम्झौता गरेर छिटो उद्धार खोजी गर्ने काम गर्नुपर्छ । यस विषयमा नेपाल सरकारले भारतसँग कुरा गरेर यस्तो कामलाई सहजीकरण गर्नुपर्छ ।

नेपालको प्रहरी पनि भारत गएर ल्याउन नसक्ने, भारतको प्रहरी पनि नेपाल आएर लान नसक्ने जस्ता कारणले घट्ना गम्भीर भइरहेको छ । जस्तै भारतमा नेपालीहरुले केही अपराध गरेर नेपाल आएर बस्यो भने सरकारले सुपुर्दगी सन्धि नभएकाले अपराध गर्नेलाई पक्राउ गरेर जिम्मा दिन नमिल्ने भन्ने भन्ने छ । भारतमा पनि यही कानून छ ।

यसले गर्दा पनि दलालहरुले धेरै फाइदा उठाइरहेका छन् । उनीहरुका एकदमै छुट्टै सञ्जाल छ, हरेक ठाँउमा आफ्नो मान्छे राखेका छन् र फसाउने काम गरिरहेका छन् । त्यस कारण जुनसुकै किसिमको अपराधी भएपनि पक्राउ गरेर ल्याउनसक्ने कानुन आवश्यक देखिएको छ ।

(भारतको नयाँदिल्लीमा रहेको किन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नवीन जोशीसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ९ : २३ बजे