Logo

मुख्य समाचार

६ वर्षपछि बसेको नेपाल–भारत सीमा कार्यदल बैठकले सीमा स्तम्भ मर्मतका लागि नयाँ मोडालिटी अपनाउने निर्णय


१३ श्रावण २०८२, मंगलबार  

46
Shares

काठमाडौं । झन्डै ६ वर्षपछि बसेको नेपाल–भारत सीमा कार्यदल (बाउन्डरी वर्किङ ग्रुप–बीडब्लूजी) को सातौँ बैठकले सीमा स्तम्भहरूको निरीक्षण, मर्मत तथा मर्मत सम्भारका लागि अद्यावधिक मोडालिटीहरू अपनाउने निर्णय गरेको छ।
मंगलबार भारतको नयाँ दिल्लीमा सम्पन्न उक्त बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सर्वेक्षण विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए भने भारतीय पक्षको नेतृत्व भारतका सर्वेक्षक महानिर्देशक हितेशकुमार एस. मकवानाले गरेका थिए।
बैठकमा सन् २०१९ को अगस्टमा देहरादूनमा सम्पन्न छैटौँ बीडब्लूजी बैठक र त्यसै वर्षको सेप्टेम्बरमा भएको ११औँ सर्वेक्षण समितिको बैठकमा गरिएका निर्णय र कार्य प्रगतिका विषयमा समीक्षा गरिएको थियो।

बैठकले सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ प्रविधिको प्रयोग र नक्साकरणमा सुधार गर्न सहमति जनाएको छ। साथै, सन् २०२५ को अगस्टमा नेपालमा सर्वेक्षण अधिकारी समिति (एसओसी) को बैठक तथा सुविधाजनक मितिमा बीडब्लूजीको अर्को बैठक नेपालमै आयोजना गर्ने विषयमा दुवै पक्षबीच सहमति भएको छ।
नेपाल–भारत सीमामा सीमा स्तम्भ निर्माण, पुनःस्थापना तथा प्राविधिक कामको उद्देश्यले सन् २०१४ मा स्थापना गरिएको बीडब्लूजीको बैठक कोभिड–१९ महामारी र सीमा विवादका कारण सन् २०१९ यता रोकिएको थियो। कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ता क्षेत्रका विवादबीच झन्डै ६ वर्षपछि बैठक पुनः सुरु भएको हो।
बैठक नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार सौहार्दपूर्ण र मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको हो।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ८ : २७ बजे