नेपालमा पाइने बाघलाई संरक्षण गरेर अन्तर्राष्ट्रिय जगतमा पहिचान गराइरहेका छौं । बाघको संख्या दोब्बर होइन तेब्बर बनाउने लक्ष्यका साथ काम पनि गरिरहेका छौं । बाघले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गरेको छ ।
हरिभद्र आचार्य
बरिष्ठ ईकोलोजिष्ट
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
नेपालमा विशेषगरी पाटे बाघ पाइन्छ । यिनीहरु पर्सा, चितवन, बर्दिया, बाँके, शुक्लाफाँटा गरी पाँच स्थानमा संरक्षित छन् । यि स्थानको वरपरको क्षेत्रमा पनि बाघ पाइन्छ । तर नेपालमा रहेका बाघहरुको संरक्षण र सुरक्षामा स्थानीय निकायदेखि सरोकारवालाहरुको सहभागितामा मिलेर काम गरिरहेका छौं । जसका कारण अहिले उल्लेखनीय रुपमा बाघको संख्यामा वृद्धि भइरहेको छ । २०१० मा १२१ को संख्यामा रहेको बाघ २०२२ मा आइपुग्दा ३५५ पुगेको छ । आँउदो वर्ष बाघको सर्वेक्षण गरेर थप गणना गरि अन्य विवरण निकाल्ने प्रयासमा छौं ।
गणना विधि
बाघको गणना निकै चुनौतिपूर्ण छ । हाल क्यामरा ट्रयाप विधिबाट गणना गरिरहेका छौं । बाघ पाउने सम्भावित बासस्थललाई घना वनजंगल क्षेत्र भएकाले जंगललाई दुई वाई दुईको ग्रिडमा विभाजन गरेर काम गरिरहेका छौं । बाघ हिड्ने पाइलादेखि गन्धसम्मको आधारमा उपयुक्त ठाँउ पहिचान गरि एक जोडी क्यामरा दुइ हप्ता भन्दा बढी समय एकै स्थानमा राखेर काम गर्ने गर्छौ । त्यस्ता क्यामराले निरन्तर र स्वचालित रुपमा बाघ आउने वित्तिकै फोटो खिच्छ । एउटा बाघको शरीरको पाटो अर्को बाघसँग नमिल्ने भएकाले सोही अनुसार गणना गरिरहेका छौं । र बाघको शरीरको एका पट्टीको पाटो अर्को पट्टीसँग मिल्दैन । मान्छेको हातको फिङ्गर प्रिन्ट अर्को पट्टीसँग नमिलेजस्तै सोही आधारमा पहिचान गरि गणना गर्ने गरेका छाँै । हरेक चारदेखि पाँच बर्षमा बाघको सर्वेक्षण गरि तथ्यांक निकाल्ने गरेका छौँ ।
पर्यटनमा चासो
नेपालमा पाइने बाघलाई संरक्षण गरेर अन्तर्राष्ट्रिय जगतमा पहिचान गरिरहेका छौं । बाघको संख्या दोब्बर होइन तेब्बर बनाउने लक्ष्यका साथ काम पनि गरिरहेका छौं । बाघले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गरेको छ । नेपाल भ्रमण गर्ने विदेशीहरु जति छन् खासगरी वन्यजन्तु अवलोकन गर्न आउने गरेका छन् ।
प्रकृतिसँग रमाउनको लागि नै विदेशीहरु पर्यटकको रुपमा नेपाल आउने गरेका छन् । नेपालमा आएका पर्यटनहरु मध्य ६० प्रतिशत निकुन्ज घुम्न आउने गरेको तथ्यांकमा उल्लेख छ । त्यसमा पनि पाटे बाघ हेर्न आउनेहरुको संख्या बढी छ । उनीहरु बाघ हेर्न पाउँदा नै खुशी छन् । त्यसैले संसारबाट लोप हुन लागेका वन्यजन्तुहरुको संरक्षण गर्नुपर्छ भन्ने हाम्रो लक्ष्य हो । संसारका १४ वटा मुलुकमा मात्र बाघ पाइने गरेको छ ।
विश्वका अन्य देशको तुलनामा बाघको संख्या वृद्धि हुँदै गएको छ । बाघको संख्या वृद्धि हुँदा धेरै हौसिनु पनि हुँदैन । हुनत यसका चुनौति धेरै छन् । चुनौतिको सामना गर्नका लागि पनि हाम्रो क्षमताको विकास गर्न जरुरी छ तर बाघको संख्या वृद्धिले नेपालको पहिचानलाई अभिवृद्धि गरेको छ र पर्यटकहरुको आर्कषकको रुपमा रहेको छ ।
संरक्षणको प्रयास
बाघले आफ्नो क्षेत्राधिकार भित्र बस्छ । त्यो क्षेत्राधिकार भित्र अर्को बाघ आयो भने द्वन्द्व हुन्छ । र जसले जित्छ त्यो क्षेत्रमा उसैले राज गछ्र्र । बाघको स्थान भनेको एकदमै फरेस्ट एरियामा मात्र हो । वास्तवमा बाघलाई जंगलमा बस्दा चाहिने भनेकै आहारा हो । बाघको आहारा भनेको मृग प्रजाती नै हो । आहारा पर्याप्त बनाइदिनको लागि घाँसे मैदान सुधार गर्ने, पानीको प्रर्वद्धन गरिदिने, पानीको मुहान बनाइदिने, सरसफाइको काम गरिदिने र बाघको बासस्थानलाई चोरी शिकारी हुनबाट बचाउनलाई सुरक्षणको लागि नियमित रुपमा गस्ती अर्थात पेटा«ेलिङ गर्ने गरिरहेका छौं ।
त्यसमा नेपाली सेनादेखि खटिएका सबै कर्मचारीहरुले नै गस्तीका कामहरु गर्ने गर्छन् । चोरी शिकारी भएर गैर कानुनी रुपमा विक्री वितरण हुनसक्ने सम्भावनालाई पनि निस्तेज गर्नका लागि विभिन्न समन्वयात्मक संयन्त्र निर्माण गरेका छौँ । जसमा बाहिर ओसारपसार रोक्नदेखि भित्रको सुरक्षासम्ममा नेपाल प्रहरी, नेपाली सेनालगायतका अरु सुरक्षा निकायहरु पनि आवद्ध गराइ संरक्षण गराएका छाँै ।
आयाआर्जनमा जोड
स्थानीय स्तरमा निकुन्ज आसपास बसोबास गर्नेहरुलाई मध्यवर्ती क्षेत्रको अवधारणामा ल्याएर समूह एवम समितिमार्फत संरक्षणमा सचेतनामुलक काम गर्दै आइरहेका छौं । समुदायको विकासका लागि ३० देखि ५० प्रतिशत रकम चाहीं स्थानीय समूदायको सामुदायिक विकास जनचेतनाको वृद्धि, जैविक विविधता, प्रजाती संरक्षणका गतिविधि जस्ता कार्यक्रमहरु संचालन गर्न सरकारले कानुनी व्यवस्था गरेको छ ।
सोही मोडालिटिमा समुदायदेखि सरकार राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको रुपमा सहयोग गरिरहेको छ । सबैले मिलेर समूदायको हितको विषयलाई लिएर काम गर्ने, आयआर्जनको विषयलाई पनि विशेष जोड दिने गरेको छ । साथै समुदायलाई वनजंगल भित्र प्रवेश गर्न नदिने कार्यक्रम पनि साथै अघि बढाएका छौं । किनकि समुदाय जंगलभित्र प्रवेश गर्दा बाघसँग द्वन्द्व हुने गरेको छ ।
गाउँमा किन पस्छ बाघ ?
सामान्य अवस्थामा बाघ गाँउमा पस्दैन । बाघ सकभर मानव बस्ती भन्दा पर नै बस्छ । यदि जंगलमै हिडेको अवस्थामा, नजिकै छ भने या जम्काभेटमा पनि बाघ मान्छेसँग झम्टि हाल्दैन । उ लसक्क लस्किने, लुक्ने, धेरै गतिविधि त्यहाँ नदेखाउने स्वाभावको हुन्छ । अध्ययनको आधारमा भन्नुपर्दा जति बाघ र मान्छेबिचको द्वन्द्व छ ती घटना यस्ता छन् कि घाँस काट्न जाँदा, दाउरा संकलन गर्न जाँदा आक्रमणमा परेको देखिन्छ ।
धेरथोर सानो संख्यामा बाघ कहिलेकाहीं बाहिर निस्कछ । त्यस्तो बेला कस्तो किसिमको बाघ बाहिर निस्कन्छ भन्ने कुरा ध्यानमा राख्न जरुरी देखिन्छ । सामान्यतः प्राकृतिक स्थलमा बाघ जो आफ्नो आवश्यकता पूरा गर्न सक्छ, उ शिकार गर्न सक्षम छ भने त्यस्तो किसिमको बाघ गाँउमा प्रवेश गर्दैन । त्यसभित्र अरु बाघ पनि हुन्छन् । तिनीहरु बिच द्वन्द्व हुन्छ र लडाई हुँदा एउटा घाइते हुन्छन् । उसलाई चोट लाग्छ र घाइते हुन्छ । घाइते भएको बाघले जंगलमा शिकार गर्न नसक्ने हुँदा उ गाँउमा पस्छ । र उ गाँउमा पसेपछि त्यहाँ मानिसको समिपमा आँउछ । यदी गाईबस्तु छ भने गाइबस्तुलाई आक्रमण गर्छ, या त मानिसलाई आक्रमण गर्छ ।
मान्छेलाई आक्रमण गर्नुको कारण
खासगरी मान्छेलाई आक्रमण गर्ने बाघको स्वभाव हुँदैन । तर उसले आफ्नो सुरक्षाको लागि आक्रमण गर्छ । बाघले आफनो बच्चादेखि नै सिकेको हुन्छ, कस्तो किसिमको शिकार गर्ने, कसरी गर्ने भनेर । र बाघ ठूलो भएपछि मात्र माउले सिकाएअनुसारको शिकार गर्छ । बाघले कहिलेपनि दुई खुटट्े मानिस तेरो शिकार हो भनेर सिकाएको हुँदैन । उसलाई चार खुटट्े मात्र शिकार गर्न सिकाएको हुन्छ । यदी झुक्किएर शिकार गर्यो भने मात्र उसले मान्छेको शिकार गर्छ । त्यस्तो किसिमको बाघलाई नरभक्षी बाघ भन्छौँ । र नरभक्षी बाघलाई उचित व्यवस्था गर्ने गरिएको छ । बाघले एकचोटि मान्छे खाइसकेपछि पुनः दोहोर्यायो भने त्यो खतराको संकेत हो । त्यस्ता बाघलाई समातेर खोरमा हाल्ने काम गरेका छौँ । यदी बाघको बच्चा आरामसँग बसेको छ भने त्यसबेला पनि मानिससँग जम्काभेट भयो भने आक्रमण गर्छ । मानिस निहुरिरहेको अवस्थामा पनि बाघ चारखुट्टे प्राणी हो भनेर झुक्किन सक्छ । त्यो बेलापनि पनि बाघले आक्रमण गर्न सक्छ । बाघ जन्मिन्छ हुर्कन्छ र बुढो हुन्छ । बाघ बुढो भएपछि शारीरिक रुपमा अशक्त हुँदा शिकारका लागि दौडन सक्दैन र उ गाँउ पस्ने गर्छ ।
अध्ययनले पनि के भन्छ भने बढीमा चार प्रतिशत बाघ मात्र द्वन्द्वमा आउने गर्छ । सबै बाघ द्वन्द्वमा आँउदैन । त्यस्ता किसिमका बाघलाई क्यामरा ट्रयापबाट पहिचान गरि उसलाई कैदगरि खोरमा राख्ने गरेका छौं । बाघ र मान्छेबीच मात्र द्वन्द्व होइन गैंडा, हात्ती, चितुवासँग पनि द्वन्द्व हुन्छ । हाम्रो नीति, नियम, कानुन यस्तो छ कि सुकुम्बासीलाई लगेर जंगलमा लगेर बसोबास गर्न लगाउने, लालपुर्जा दिने गरिन्छ । यस कुरालाई व्यवस्थित बनाउन आवश्यक छ ।
बाघ दिवसको सान्दर्भिकता
जुलाई २९ लाई संसारभर बाघ दिवस मनाउने गरिन्छ । बाघ संसारको १४ वटा देशमा पाउँछ । बाघ पाउने हिसाबले पनि नेपालले हरेक बर्ष बाघ दिवस मनाउने गरिएको छ । यस बर्षको नारा ‘सहअस्तित्व र आया आर्जन बाघ संरक्षणको लागि मानव व्यवहार परिर्वतन’ भन्ने छ । पृथ्वीमा बाघलाई पनि बाँच्न पाउने अधिकार छ । मान्छेको पनि त्यत्तिकै बाँच्न पाउने अधिकार छ । सहअस्तित्व कायम गरेर दुबै समान हिसाबले बाँच्न पाउनुपर्छ भन्ने नाराले समेटेको छ ।
अर्को आयआर्जन, पर्या–पर्यटनका गतिविधिहरु जतिपनि छन् बाघ पाउने ठाँउहरु वा निकुन्जहरुमा होटल व्यवसाय चलेको छ । जंगल सफारीदेखि जिप सफारी चलेको छ । बाघका कारण जति पनि पर्यटन व्यवसायहरु चलेको छ बाघको फ्लो पनि बढेको हो । जती पनि रोजगारीका अवसरहरु छन् पर्यटन व्यवसाय बढेको छन् । त्यसको मुल जड त बन्यजन्तु नै हो । आकर्षण त बन्यजन्तु नै हो । आयआर्जनसँग अझ बढी जोड्दै, सहअस्तित्व कायम गर्दै होटल व्यवसायीले आम्दानी बृद्धि भएको छ ।
यसो भनिरहँदा बन्यजन्तुबाट पीडित समुदायलाई पनि सहयोग गर्न जरुरी छ । यस बर्ष राष्ट्रिय स्तरको कार्यक्रम चितवन राष्ट्रिय निकुन्ज भित्र गर्ने तयारी गरिएको छ । स्थानीय सरकारदेखि सरकारी निकायसम्म मिलेर एक दिने कार्यक्रम आयोजना गरेका छौँ । त्यहाँ विशेषत बाघको अहिलेको अवस्थादेखि चुनौती अवसरलाई प्रस्तुत गर्ने कार्यसूची रहेको छ । छलफलदेखि प्यानल डिस्कसन जस्ता कार्यक्रम पनि राखेका छौँ ।
(राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका बरिष्ठ ईकोलोजिष्ट एवम सूचना अधिकारी हरिभद्र आचार्यसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया