काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले श्रम मन्त्रालयले प्रवाह गर्ने सेवाहरुलाई एकद्वार प्रणालीबाट लगेर प्रविधिमैत्री बनाउने बताएका छन् ।
सोमबार काठमाडौंमा श्रम मन्त्रालयले गरेको श्रम संसार नागरिक एपको शुभारम्भ कार्यक्रममा उनले प्रविधिमैत्री सेवा प्रवाह गर्ने र सेवालाई पारदर्शि बनाउने भन्ने उद्देश्यका साथ श्रम मन्त्रालयले प्रवाह गर्ने सेवाहरुलाई एकद्वार प्रणालीबाट लिएर जाने भन्दै त्यसमा अहिलेको प्रविधिको प्रयोग पनि गर्ने बताए ।
उनले भने, अहिले डिजिटल नेपालको अवधारणा अनुसार नेपालका सेवा प्रवाहहरुलाई अत्यन्तै प्रभावकारी बनाउने, पेपरलेस, फेसलेस हिसाबले अगाडि बढाउने र अहिलेको प्रविधिमैत्री सेवा प्रवाह गर्ने एवम सेवालाई पारदर्शि बनाउने भन्ने उद्देश्यका आधारमा काम गरिरहेका छौं । मन्त्रालयले प्रवाह गर्ने जतिपनि सेवाहरु छन्, ती सेवाहरुलाई एकद्वार प्रणालीबाट लिएर जाने र त्यसमा अहिलेको प्रविधिको प्रयोग गर्ने भनेर अगाडि बढेको कुरा सबैलाई जानकारी नै छ ।’
यस्तै, उनले नेपालको श्रम बजारको बारेमा एउटा विश्लेषणात्मक सूचनाको अभावले गर्दा मुलुकमा भएका रोजगारका सम्भावनाहरु नेपालीले प्रयोग गर्न नसक्ने र रोजगारीका लागि बाहिर जानुपर्ने अवस्था आएको पनि बताए ।
उनले भने, नेपालको श्रम बजारको बारेमा एउटा विश्लेषणात्मक सूचनाको अभावले, नेपालमा रोजगारीको अवस्था कस्तो छ, केछ, नेपालको जनशक्ति कस्तो छ, उनीहरुको क्षमता के छ र हामीलाई चाहिने जनशक्ति कस्तो हो भन्ने बारेमा पनि व्यापक रुपमा छलफल हुन आवश्यक थियो । छलफल नभएको कारणले श्रमशक्तिको आवश्यकता एकातिर छ तर उनीहरु अर्कातिर छन् । यसले गर्दा रोजगारको लागि आवश्यकता भएको दक्ष जनशक्ति तयार गर्न सकेनौं । तयार भएको जनशक्तिलाई रोजगारसँग जोड्न सकेनौ । यसले गर्दा मुलुकमा भएका रोजगारका सम्भावनाहरु नेपालीले प्रयोग गर्न नसक्ने र रोजगारीका लागि बाहिर जानुपर्ने अवस्था छ ।’ अहिले वैदेशिक रोजगारमा जानुपर्ने जुन बाध्यता छ त्यो बाध्यतालाई घटाउदैँ लिएर जानुपर्ने भन्दै आउने १० वर्षभित्रमा बाध्यात्मक वैदेशिक रोजगारमा जानु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया