Logo

खेलकुद

भारत र इंग्ल्यान्डबीच चौथो टेस्ट बराबरीमा टुंगियो, शृंखला अझै खुला



काठमाडौं । भारत र इंग्ल्यान्डबीचको चौथो टेस्ट खेल बराबरीमा टुंगिएको छ। आइतबार समाप्त भएको खेलमा भारतले दोस्रो इनिङमा चार विकेट गुमाएर ४२५ रन बनाउँदा इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले खेल बराबरीको प्रस्ताव गरेका थिए, जसलाई भारतले स्वीकार गर्दै खेल ‘ड्र’ मा समाप्त भयो।

दोस्रो इनिङमा भारतका तर्फबाट कप्तान सुभमन गिल, वासिंटन सुन्दर र रविन्द्र जडेजाले शतक प्रहार गरे। गिलले १०३, सुन्दरले १०१ तथा जडेजाले १०७ रन बनाए। इंग्ल्यान्डका क्रिस वोक्सले दुई विकेट लिँदा जोफ्रा आर्चर र स्टोक्सले एक–एक विकेट लिए।

यसअघि भारतले पहिलो इनिङमा ३५८ रन बनाएको थियो भने इंग्ल्यान्डले जवाफी ब्याटिङमा ६६९ रन जोड्दै ३११ रनको ठूलो अग्रता लिएको थियो। दोस्रो इनिङमा सशक्त प्रदर्शन गर्दै भारत ११४ रनले अघि रहँदा इंग्ल्यान्डले बराबरीको प्रस्ताव अघि सारेको थियो।

यो नतिजासँगै पाँच खेलको टेस्ट शृंखलामा इंग्ल्यान्ड २–१ ले अगाडि रहेको छ। अन्तिम तथा निर्णायक टेस्ट खेल जुलाई ३१ देखि सुरु हुनेछ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ३ : ०१ बजे