सिरहा, लहान । सिरहाको लहानस्थित इलाका प्रशासन कार्यालयमा सुरु गरिएको अनलाइन नागरिकता सिफारिस प्रणालीले सेवाग्राहीको चापमा उल्लेखनीय कमी ल्याएको छ। कार्यालयका अनुसार, गत फागुनदेखि लागू गरिएको प्रणालीले सेवा प्रवाह सहज बनाउनुका साथै प्रक्रियागत झन्झट र समय खर्च समेत घटाएको छ।
कार्यालय प्रमुख गोकर्णराज सुयलका अनुसार, वडाबाटै अनलाइनमार्फत सिफारिस दिन सकिने व्यवस्था भएपछि सेवाग्राही दिनभर लाइन बस्नुपर्ने झन्झटबाट मुक्त भएका छन्। “प्रणाली लागू भएपछिको पाँच महिनामा ४० वटा वडा कार्यालयबाट एक हजार पाँच सय ८१ जनाले अनलाइनमार्फत नागरिकता प्राप्त गरेका छन्,” उनले जानकारी दिए।
उनका अनुसार, प्रणाली लागू भएपछि अभिलेखीकरण प्रक्रिया सरल भएको छ भने सेवा प्रवाह छरितो बनेको छ। झुटा वा किर्ते विवरणका आधारमा नागरिकता लिने कार्यमा समेत नियन्त्रण कायम भएको बताउँदै उनले प्रणालीले सेवा ‘विचौलिया मुक्त’ बनाएको उल्लेख गरे।
अनलाइन प्रणालीअन्तर्गत लहान नगरपालिकाका २४ वडाबाट ८५४, भगवानपुर गाउँपालिकाका पाँच वडाबाट २१२, सखुवानन्कारकट्टी गाउँपालिकाका पाँच वडाबाट २०१, धनगढीमाई नगरपालिकाका तीन वडाबाट १३४, लक्ष्मीपुर पतारी गाउँपालिकाका दुई वडाबाट १२० र नवराजपुर गाउँपालिकाका एक वडाबाट ६० जनाले नागरिकता लिएका छन्।
यस प्रक्रियाअनुसार, सेवाग्राहीले आवश्यक कागजात लिएर वडा कार्यालयमा पुगेपछि त्यहीँबाट अनलाइन सिफारिस प्रक्रिया सुरु गरिन्छ। प्रविष्ट विवरणहरू गृह मन्त्रालय अन्तर्गत नागरिकता फाँटको सफ्टवेयर प्रणालीमा रजिष्ट्रेशन कोडको माध्यमबाट पहुँचयोग्य हुन्छन्।
लहान इलाका प्रशासन कार्यालय सिरहा जिल्लामा अनलाइन नागरिकता सिफारिस सेवा सुरु गर्ने पहिलो कार्यालय हो। कार्यालयले यस प्रणालीले नागरिकता सेवामा पारदर्शिता, गति, र विश्वसनीयता थपेको जनाएको छ।
प्रतिक्रिया