Logo

समाचार

आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध, अविरल वर्षाले देशभर यातायात प्रभावित



काठमाडौँ । देशभर जारी अविरल वर्षाका कारण आठ मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार, गएरातिदेखि लगातार परेको वर्षाले बाढी र पहिरो निम्त्याउँदै यातायात अवरुद्ध पारेको हो।

अवरुद्ध हुने राजमार्गहरूमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा रहेको नेपाल–चीन नाका जोड्ने पुल, पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, नुवाकोटको मध्यपहाडी राजमार्ग, रुकुम पश्चिमको जाजरकोट–डोल्पा भेरी करिडोर, हुम्लाको कर्णाली करिडोर र जाजरकोटको मध्यपहाडी राजमार्ग रहेका छन्।

यस्तै, काठमाडौंको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बाग्लुङको कालिगण्डकी करिडोर, नवलपरासी पूर्वको गैँडाकोट खण्ड, मुस्ताङको बेनी–जोमसोम सडक र रोल्पाको सहिद राजमार्ग एकतर्फी मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले अवरुद्ध सडकहरू खुलाउन सुरक्षा निकाय र सरोकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक उद्धार तथा मरम्मत कार्य जारी रहेको जानकारी दिएको छ। लगातारको वर्षाले थप क्षतिको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  २ : ४१ बजे