काठमाडौं। वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेका नेपाली कामदारहरूको मृत्यु दरमा विगत एक वर्षमा उल्लेख्य वृद्धि भएको छ। अबुधाबीस्थित नेपाली दूतावासका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा यूएईमा ३१२ जना नेपालीको मृत्यु भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २३१ जनाको मृत्यु भएको थियो।
पछिल्लो आर्थिक वर्षमा मासिक औसतमा २६ जना नेपालीले ज्यान गुमाएका छन्, जुन अघिल्लो वर्षको मासिक औसत १९.२५ भन्दा उल्लेखनीय रुपमा बढी हो। दूतावासले उपलब्ध गराएको विवरणअनुसार ०८१ साउनमा ३०, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५, मंसिरमा २४, पुसमा १३, माघमा २५, फागुनमा १७, चैतमा १७, ०८२ वैशाखमा ३५, जेठमा २० र असारमा ३१ नेपालीको मृत्यु भएको छ।
मृत्युका प्रमुख कारणहरूमा सडक दुर्घटना, कार्यस्थलमा भएका दुर्घटना, हृदयघात तथा मुटुसम्बन्धी रोगहरू रहेका छन्। दूतावासले सुरक्षित रोजगारीका लागि सरकार र सम्बन्धित निकायहरूलाई कामदारहरूको स्वास्थ्य सुरक्षा, बीमा प्रणाली र पूर्वतयारी तालिममा जोड दिनुपर्ने सुझाव दिएको छ।
११ श्रावण २०८२, आइतबार
92
Shares
प्रतिक्रिया