हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. २ र प्रतिनिधि सभा क्षेत्र नं. २ ‘क’ अन्तर्गतको क्षेत्रीय अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ ।
पुर्वाधार विकास समिति सभापति एवं प्रतिनिधि सभा सांसद माननीय दीपकबहादुर सिंहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा सिंहले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख प्रणाली आवश्यक रहेको धारणा व्यक्त गरे ।
उनले वर्तमान शासन प्रणालीले जनताको प्रत्यक्ष भावना र इच्छालाई सम्बोधन गर्न नसकेको भन्दै अबको राजनीतिक मार्गदर्शन प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख प्रणालीबाट मात्र सम्भव हुने उल्लेख गरे ।
अधिवेशनमा विभिन्न तहका नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ । प्रतिनिधि सभा क्षेत्र नं. २ बाट अध्यक्षमा राम थोकर निर्वाचित हुनुभएको छ भने प्रदेश सभा क्षेत्र नं. २ (क) का अध्यक्षमा नविन रायमाझी चयन हुनुभएको छ ।
यसैगरी, थाहा नगर महिला संगठनको अध्यक्षमा वसुन्धरा पुडासैनी सर्वसम्मत चयन हुनुभएको छ । कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता, विभिन्न तहका जनप्रतिनिधि, र बुद्धिजीवीहरूको बाक्लो उपस्थिति थियो ।
नेताहरूले अधिवेशनलाई संगठन सुदृढीकरण तथा भावी राजनीतिक मार्गचित्र निर्माणको अवसरको रूपमा लिएका थिए।
प्रतिक्रिया