Logo

समाचार

फेसियल हाउसबारे भ्रम फैल्याउनेविरुद्ध साइबर ब्युरोमा उजुरी, प्रतिव्यक्ति १० करोड रुपैयाँ जरिवाना माग


९ श्रावण २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । देशभर सौन्दर्य सेवा प्रदान गर्दै आएको नेपालकै ‘नम्बर १’ युनिसेक्स ब्युटी सलुन ‘फेसियल हाउस’ ले आफ्नो नाम र प्रतिष्ठामा आँच पुग्ने गरी भ्रामक प्रचार सामग्री बनाइ सामाजिक सञ्जालमा पोष्ट गर्नेहरूविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ ।

फेसियल हाउसले संस्थाविरुद्ध अफवाह फैलाएर बदनाम गर्न खोज्नेहरूविरुद्ध साइबर व्युरो र अदालतमार्फत कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) की सचिव तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराका अनुसार हाल विभिन्न व्यक्तिहरूले फेसियल हाउससँग कुनै पनि औपचारिक सम्बन्ध नराखी संस्थाको नाम र लोगो दुरुपयोग गरेर सामाजिक सञ्जालहरूमा झुटा भिडिओ क्लिप तथा सामग्रीहरू पोस्ट गरिरहेका छन् ।

उनले भनेकी छिन्, ‘संस्थाको छविमा आँच पुर्‍याउने जस्ता अनावश्यक गतिविधि कुनै हालतमा स्वीकार्य छैन । यस्ता कार्य गर्नेहरूमाथि प्रत्येक व्यक्तिको हकमा १० करोड रुपैयाँ बराबरको क्षतिपूर्ति माग गर्दै साइबर ब्युरो र अदालतमार्फत प्रक्रिया अगाडि बढाइएको छ ।’

फेसियल हाउसले आम सेवाग्राही तथा नागरिकहरूलाई यस्ता ‘फेक’ प्रचारप्रति सचेत रहन आग्रह गरेको छ । साथै, भविष्यमा कुनै गुनासो वा प्रश्न भएमा फेसियल हाउसको आधिकारिक कार्यालयमा सम्पर्क गर्न प्रबन्ध निर्देशक महराले अनुरोधसमेत गरेकी छिन् ।

‘यस्ता गतिविधिहरूले संस्थाको मात्र नभई देशभर सौन्दर्य व्यवसायमा लागेका महिलाहरूको आत्मबलमा आँच पुर्‍याउने भएकाले सत्यको पक्षमा उभिएर कानुनी बाटो अपनाउन बाध्य भएका हौँ,’ महराले भनिन् । उनका अनुसार फेसियल हाउसले देशभर १० वटा शाखामार्फत उद्यमशीलताको विकासमा टेवा पुर्‍याउँदै करिब २०० जना भन्दा बढी जनशक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ ।

यस्ता उच्छृङ्खल गतिविधिले देशभरका शाखाहरूमा असर पार्ने भएकाले कानुनी प्रक्रियामार्फत माग गरिएको १० करोड रुपैयाँ क्षतिपूर्ति भराएरै छोडिने चेतावनी प्रबन्ध निर्देशक महराको छ । ‘संस्थाको छवीमा आँच पुर्‍याउने जस्ता गतिविधि कुनै हालतमा स्वीकार्य छैन । यस्ता कार्य गर्नेहरूमाथि प्रत्येक व्यक्तिको हकमा १० करोड रुपैयाँबराबरको क्षतिपूर्ति माग गर्दै साइबर ब्युरो र अदालतमार्फत कानुनी प्रक्रिया अगाडि बढाइएका हौँ,’ उनले दोहोर्‍याइन् । 

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ८ : १८ बजे