काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले काङ्ग्रेस अझै बलियो हुन नसकेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा स्व.दुण्डिराज शास्त्रीको स्वर्गारोहणको ४५ दिनको स्मृतिमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले काङ्ग्रेस लोकतान्त्रिक समाजवादी पार्टी भएपनि अझै बलियो हुन नसकेको बताएका हुन् ।
उनले भने, ‘नाममा नेपाल कम्युनिष्ट पार्टी भएपनि व्यवहारमा सबै पार्टीहरु लोकतान्त्रिक समाजवादी पार्टीको रुपमा काम गरिरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी भइसकेपछि, काम गर्न अलि समस्या भएपनि विस्तारै बानी पर्छ । पार्टी लोकतान्त्रिक समाजवादी पार्टी हो । तर अझै पनि त्यती बलियो भइ सकेका छैनौ ।’
अहिलेको संविधान एकदमै राम्रो भएपनि यो व्यवस्थामा बहुमत ल्याउनको लागि कुनै न कुनै पार्टीसँग मिल्नैपर्ने, सम्झौताहरु गर्नुपर्ने खालको अवस्था रहेको बताए ।
उनले भने, ‘अहिलेको संविधान एकदमै राम्रो छ । तर यो व्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ । बहुमत ल्याउन कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने । सम्झौताहरु गर्नुपर्ने खालको अवस्था छ । आज संविधान सबैका लागि स्वीकार्य भएको छ, केही कुरामा संविधान संशोधन गर्नुपर्छ भन्ने आवाजहरु उठिरहेका छन् । त्यो स्वभाविक कुरा हो, आवश्यकता अनुसार संविधानको संशोधन हुन्छ नै ’
स्व. दुण्डिराज शास्त्री एकदमै विद्वान र सिद्धान्तमा एकदमै अडिक रहने मान्छे भएको भन्दै उनले सन्तुलित समाजवादको लागि धेरै लडाइ गरेको पनि उनको भनाई छ ।
सोही कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीले स्व.दुण्डिराज शास्त्री आफैंमा नेपाली लोकतान्त्रिक आन्दोलनको अथक योद्धा, समाजवादी चिन्तक भएको भन्दै उनको निधनले धेरै नै ठूलो क्षती भएको बताए ।
उनले भने, ‘स्व. दुण्डिराज शास्त्री आफैंमा नेपाली लोकतान्त्रिक आन्दोलनको अथक योद्धा हुनुहुन्थ्यो । उहाँ समाजवादी चिन्तक, सहज र सरल पनि हुनुहुन्थ्यो । पार्टीभित्र कहिले काही विवादको रेखा देखा परेपनि उहाँसँगको सम्बन्ध सधैँ राम्रो नै थियो । त्यसकारण आज यसरी शोक मनाउनु पर्दा एकदमै दुःख लागेको छ । उहाँको निधनले धेरै नै ठूलो क्षति भएको छ ।’
प्रतिक्रिया