काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिद्वारा गठित सौर्य जहाज दुर्घटना छानबिन उपसमितिका संयोजक राजेन्द्र पाण्डेले सौर्य एरलाइन्सलाई खारेज र विमान चालकलाई हदैसम्मको कारबाही हुनुपर्ने बताएका छन् ।
शुक्रबार राजधानीको संवाद डबलीमा पीडत परिवारद्वारा गठित म्याप मेमोरियल सोसाईटीले आयोजना गरेको कार्यक्रममा पाण्डेले एरलाइन्सका मालिक दिपक पोखरेल प्रधानमन्त्री केपी ओलीको संरक्षणमा रहेकोसमेत आरोप लगाए ।
वागमती प्रदेशका पूर्व–मुख्यमन्त्रीसमेत रहेका पाण्डेले गम्भीर लापरबाहीको कारण सौर्य एयर दुर्घटना भएको बताएका छन् । शक्तिको आडमा सौर्यका मालिक पोखरेलले चलाउनै नमिल्ने थोत्रो जहाज जबजस्त चलाएको आरोप लगाउँदै भने, ‘दिपक पोखरेल केपी ओलीका भित्रिया झापाली भएकाले सौर्य एयरलाई उन्मुक्ति दिन खोजिदै छ ।’
१८ जना नागरिकको ज्यान लिएको दुर्घटनामा संलग्न दोषीउपर कारबाहीको लागि आफू नेतृत्वको समितिले पर्यटन मन्त्रालयलाई निर्देशन दिने पनि जानकारी दिए ।
पाण्डेले अत्याधिकरुपमा लापरबाही तथा जहाज मालिकको व्यापारिक स्वार्थका कारण नेपालमा जहाज दर्घटना हुने गरेको ठोकुवा गरे ।
सौर्य दुर्घटनामा गम्भिर मानवीय त्रुटी भएको ठोकुवा गर्दै पाण्डेले भने, ‘मर्मत गर्न भनिएको जहाजमा पाइलटसहति १९ जना किन बोकियो, सौर्यसँग असम्बन्धित चार वर्षको बालक र उर्जा मन्त्रालयमा कार्यरत प्रिजा खतिवडालाई कर्मचारी बनाउनु हदैसम्मको अवैधानिक कार्य हो ।’
‘विमानभित्र अत्याधिक प्रज्वलनशील पदार्थ बोक्नु, हाल्न नहुने लोड हाल्नु, क्यानको अनुमति बिना ‘फेरी’ जहाज उडाउनु, ८ किलोमिटरसम्मको भिजिबिलिटी हुँदाहुँदै पनि दुर्घटना हुनुलाई सामान्यरुपमा लिन मिल्दैन’ पाण्डेले थपे ।
अधिवक्ता अर्जुन खड्काले पीडित परिवारको निरन्तर दबाबले ढिलै भएपनि रतिशचन्द्र लाल सुमनको नेतृत्वको आयोगले प्रतिवेदन सरकारलाई बुझाएकोमा सुखद विषय भएको बताए । खड्काले आयोगको निष्कर्षकै आधारमा पनि नेपालको कानुन अनुसार दोषीलाई कारबाही गर्न मिल्ने प्रावधान रहेको जानाए ।
जहाज दुर्घटनामा तीन सन्तती गुमाएका पत्रकार प्रकाश खतिवडाले दुर्घटनाका दोषीलाई कारबाही गर्न न्यायिक जाँच आयोग गठन गर्न माग गरेका छन् । आयोगले घटना भएको ४३ दिनमा सरकारलाई बुझाएको प्रारम्भिक प्रतिवेदनको निष्कर्ष र अन्तिम प्रतिवेदन निष्कर्ष तथ्यगत फरक परेकाले सो अवस्थामा गैरसैनिक हवाई उडान जाँच नियमावली २०७१ को नियम २३ बमोजिम न्यायीक जाँज आयोग गठन गर्नुपर्ने माग खतिवडाले गरेका हुन् ।
‘३४ दिनदेखि बिमानस्थलमा थन्किएको जहाज मर्मत नगरि किन उडाइयो ? काठमाडौँमा बिग्रेर थन्किएको जहाज पोखरामा मर्मत गर्न लानुको औचित्य के ? मर्मत गर्न लगिएको गैर व्यावसायीक ‘फेरी’ उडानमा नियम विपरित मर्मतसँग असम्बधीत यात्रु किन बोकियोे ? सरकारले विधि मिचेर किन जाँच अनुसन्धान आयोग गठन गर्यो ?’ खतिवडाले प्रश्न गरे ।
छानविन समितको सदस्य सचिव मुकेश डंगोल क्याप्टेन मनिष शाक्यको आफन्त रहेकोले पनि उनले चालकलाई प्रतिवेदनमा जोगाउन खोजेको पीडित खतिवडाले आरोप लगाएका छन् ।
सो कार्यक्रममा म्याप मेमेरियल सोसाईटीले सो दुर्घटनामा दिवंगत खतिवडाका छोरी प्रिजा खतिवडा, ज्वाँई मनुराज शर्मा र नाती अधिराज शर्माको नाममा १ लाख राशीको मनुराज,अधिराज,प्रिजा स्मृति पुरस्कार घोषणा गर्दै खतिवडाले प्राविधिक, निजामति कर्मचारी र पत्रकारिता विधामा प्रत्येक वर्ष पुरस्कार प्रदान गर्ने जानकारी गराए ।
कार्यक्रममा शिक्षा पत्रकार समूहका पूर्वअध्यक्ष भूपराज खड्का, पीडित परिवारका सदस्यहरु सञ्जीव भण्डारी, सुसिल दाहाल, धिरज ढकाल, समिर खतिवडालगायतका परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो । सोसाईटीका संरक्षक उषा पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार धनराज वास्तविकले गरेका थिए ।
प्रतिक्रिया