काठमाडौं । एलिसन स्पोट्र्स प्रालिको आयोजनामा काठमाडौंको पेप्सीकोलामा ‘दोस्रो महिला फुटसल च्याम्पियनसिप–२०८२’ आयोजना हुने भएको छ ।
नेपाली महिलाहरुलाई फुटबल तथा फुटसल खेलमा प्रोत्साहन गर्ने उद्देश्यले यही भाद्र १८ गते आयोजना हुने प्रतियोगितामा नेपालभरका कुनैपनि स्थानमा बसोबास गर्ने महिलाहरुले आफ्नो टिम बनाएर सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।
लिग कम नकआउट आधारमा खेलाइने प्रतियोगितामा सहभागिता जनाउने प्रत्येक टिमले ८ जना खेलाडी, १ जना कोच र १ जना टिम मेनेजरसहित १० जनाको टोली तयार गर्नुपर्ने सचिव रुपेश थापाले बताएका छन् ।
सबै उमेर समूहको महिलाले सहभागिता जनाउन पाउन भन्ने उद्देश्यले १६ वर्षसम्मकाले जुनियर टिम र १६ वर्षभन्दा माथिकाले सिनियर टिममा सहभागिता जनाउन पाउनेछन् । सिनियर टिममा सहभागिता जनाउन खुल्ला भएकाले राष्ट्रिय खेलाडी वा ‘ए’ डिभिजनमा खेलिसकेका खेलाडीहरुले पनि खेल्न पाउने अध्यक्ष सगुन थापा मगरले बताए ।
सिनियरतर्फको विजेता टिमले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ । उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडीलाई जनही २ हजार ५ सय नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
यसैगरी जुनियरतर्फको विजेता टिमले २० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुका साथै उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडीलाई जनही १ हजार ५ सय नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने मगरले जानकारी दिनुभयो ।प्रतियोगितामा सहभागिताका लागि आवेदन खुल्ला गरिसकिएकोले इच्छुक टिमले सिनियरतर्फ .५ हजार ५ सय रुपैयाँ र जुनियरतर्फ ३ हजार रुपैयाँ दर्ता शुल्क बुझाइ, फर्म भरी परिचयपत्र भाद्र १५ गते आइतबार बेलुका ५ बजेसम्म बुझाएर टिम दर्ता गराउनुपर्ने बताइएको छ । यसैगरी सो समयपश्चात आएका फर्मलाई टाइसिटमा सहभागिता नगराउने आयोजकले बताएको छ ।
प्रतियोगिताको मुख्य उद्देश्य बढीभन्दा बढी नयाँ महिला खेलाडीलाई खेलमा सहभागी गराउनका साथै राष्ट्रिय टिममा उपस्थितिका लागि यसले खुड्किलोको भूमिका खेल्ने आयोजकले बताएका छन् । पहिलो महिला फुटसल च्याम्पियनसिप २०८१ मा सिनियर र जुनियर गरेर २० टिमको सहभागिता रहेको थियो भने यस पटक कम्तीमा ३२ टिमको सहभागिता गराउने लक्ष्य लिइएको आयोजक संस्थाकी उपाध्यक्ष एलिना मगरले जानकारी दिइन । यस पटकको टुर्नामेण्टको थिम सि विन्स अर्थात् उनी जित्छिन् भन्ने छ । यसैले फुटबल वा फुटसलमा चासो राख्ने महिलालाई खेलमा सहभागि हुन र सहयोग गर्न उपाध्यक्ष मगरले आह्वान गरिन् ।
यस टुर्नामेण्टको अफिसियल मिडिया नेपाल न्युज बैंक समाचार एजेन्सी रहेको छ भने अफिसियल लाइभ मिडियामा गोल नेपाल डटकम रहेको छ ।
प्रतिक्रिया