बाजुरा । आर्थिक अभावले श्रीमान् साथमा छैनन् । गाडी चढ्न पैसा छैन अनि समाजले हेर्ने दृष्टिकोणले गर्दा सरसहयोग माग्न पनि लाज लाग्छ । त्यही लाज र डरले बाजुराकी पवित्रा लोहारले सुत्केरी व्यथाले च्यापिँदासमेत स्वास्थ्य चौकी पुग्न सकिनन् र आफ्नै बलमा, बाटोमै अर्थात खुला आकाशमुनि सन्तान जन्माइन् ।
कथा केवल पवित्राको मात्र होइन, सुदूरपश्चिमका ती आमाहरूको हो, जसले बाँच्न र सन्तान जन्माउन हरेकचोटि जीवनसँग संघर्ष गर्नुपर्छ । ज्यान जोखिममा राख्नुपर्छ । यस्ता कथाहरूले सबैलाई भावुक बनाउँछ । आँसु थाम्न गाह्रो बनाउँछ ।
बाजुराको बुढीगंगा नगरपालिका–७ की २२ वर्षीया पवित्रा लोहार स्वास्थ्य चौकी पुग्न नपाउँदै बाटोमै आफ्नो तेस्रो सन्तानलाई जन्म दिएको यही घट्नाले समाजप्रति प्रश्न उब्जाएको छ । माइतीघर कोटवाडाबाट सुत्केरी सेवा लिन स्वास्थ्य चौकीतर्फ हिँडिएकी पवित्राले घरबाट निस्किएको केही मिनेटमै ब्यथाले च्यापेपछि बाटोमै बच्चा जन्माउनु परेको हो ।
पवित्राको माइतीघर नजिकै रहेको स्वास्थ्य चौकीसम्मको दूरी अधिकतम आधा घण्टा पैदल हिँड्नुपर्ने हो । तर रातिदेखि पेट दुखिरहेको भए पनि लाज र संकोचका कारण उनले कसैलाई केही जानकारी नदिइ बिहान ९ः३० बजे एक्लै चौकीतर्फ लागेकी थिइन् । उनले आफ्नै आमासमक्ष पनि ब्यथा लागेको कुरा भन्न सकेकी थिइनन् ।
स्वास्थ्य चौकीमा खबर पुग्नासाथ अनमी मंगला कुमारी बोहराको नेतृत्वमा गएको स्वास्थ्य टोलीले बाटोमै सुरक्षित तरिकाले सुत्केरी गराएर आमा र बच्चालाई सकुशल उद्दार गरेको छ । स्वास्थ्य संस्थामा लगिएको केही समयमै सुत्केरीलाई आवश्यक सेवा दिइएको अनमी बोहराले जानकारी दिइन् ।
विवाह भएको पाँच वर्षमै तेस्रो सन्तान जन्माएकी पवित्रा अहिले २२ वर्षकी मात्र छिन । श्रीमान भारतमा मजदुरी पेशामा रहेकाले गर्भकालदेखि सुत्केरीसम्मको सम्पूर्ण जिम्मेवारी उनले आफैंले निर्वाह गर्नुपरिरहेको छ । सासु–ससुरा अलग बस्ने, आफन्त कोही नहुने र आर्थिक हैसियत कमजोर भएका कारण उनले एम्बुलेन्स समेत बोलाउन सकिनन् ।
पवित्राको घटना बाजुराजस्ता दुर्गम क्षेत्रका महिला र आमा बन्न लागेकाहरूको प्रतिनिधि पीडा हो । सुदूरपश्चिमका धेरै बस्तीहरूमा अझै स्वास्थ्य सेवा सजिलै उपलब्ध छैन । पायक पर्ने स्वास्थ्य संस्था टाढा हुनु, सडक नहुनु, परिवहन सेवा नपुग्नु र सामाजिक संकोचजस्ता कारणले महिला ब्यथा च्यापिएपछि मात्रै उपचारका लागि पुग्ने गर्दछन् ।
स्वास्थ्यकर्मीका अनुसार पवित्राको अवस्था गम्भीर हुन सक्ने थियो, तर समयमै खबर पाएको र टोली गएर उद्दार गरेकाले आमा र बच्चा दुवैको ज्यान बचेको हो । पवित्रा नियमित जाँचमा जाँदै आएकी थिइन् र साउन २० गते डाक्टरले प्रसूति मिति दिएको भए पनि समयभन्दा पहिले बच्चा जन्मिएको हो ।
बुढीगंगा नगरपालिका उपप्रमुख माया कुँवरका अनुसार पालिकाले सुरक्षित प्रसूति गृह निर्माणमार्फत सबै वडामा स्वास्थ्य सेवा पु¥याउने प्रयास गरेपनि व्यवहारिक रूपमा परिवार र समुदायको बेवास्ता अझै ज्यूँकात्यूँ छ । उनका अनुसार स्वास्थ्य संरचना मात्रै भएर पुग्दैन, परिवारको तयारी, माया र सहयोग नभएसम्म आमा र नवजात शिशुको सुरक्षामा ग्यारेन्टी हुँदैन ।
स्वास्थ्यकर्मी मंगला कुमारी बोहराले भनिन्,‘यहाँ अधिकांश गर्भवती महिलाहरू एक्लै अस्पताल आउँछन् । श्रीमानहरू विदेशमा छन्, परिवार बेवास्ता गर्छन । ब्यथा लागिसकेपछि मात्रै खबर गर्छन्, जुन निकै जोखिमपूर्ण हुन्छ ।’
पवित्राको कथा एउटा उदाहरण मात्र हो, तर समस्या सामूहिक र परम्परागत छ । यस्तो समस्याको समाधानका लागि संरचना मात्रै होइन, चेतना, सहानुभूति र जिम्मेवारी आवश्यक छ ।
प्रतिक्रिया