काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको समृद्धि वर्तमान आर्थिक सूचकांकले मात्रै मापन गर्न नसकिने बताएकी छिन् । नेपालखबरको १०औं वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौंमा आयोजित ‘राइजिङ नेपाल समिट–२०२५’ मा बोल्दै उनले नेपालको समृद्धिलाई दिगो तुल्याउन राजनीतिक दृढता, सामाजिक समावेशिता, संविधानप्रति प्रतिबद्धता र राष्ट्रिय स्वाभिमानसँग निरन्तर जोडिराख्नुपर्ने बताएकी हुन् ।
भण्डारीले भनिन्, ‘नेपालको समृद्धि वर्तमान आर्थिक सुचकांकले मात्रै मापन गर्न सक्दैन। बरु यसलाई दिगो तुल्याउन राजनीतिक दृढता, सामाजिक समावेशिता, संविधानप्रति प्रतिबद्धता र राष्ट्रिय स्वाभिमानसँग निरन्तर जोडिराख्नुपर्दछ ।’
उनले नीतिगत स्पष्टता, विधिको शासन र पारदर्शी प्रशासन समृद्धिको प्रमुख आधार भएको उल्लेख गर्दै यस्तो जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्ने बताइन् । उनले समृद्धि मुठ्ठीभर केही मानिसको लागि मात्रै होइन, आम जनताको लागि हुनुपर्ने बताइन् ।
उनले भनिन्, ‘नीतिगत स्पष्टता, विधिको शासन, पारदर्शी प्रशासन यी सबै आवश्यक छन् त्यसको आधार बनाउने जिम्मेवारी राजनीतिक नेतृत्वको काँधमा छ । साथै हामीले समृद्धि मुठ्ठीभर केही मानिसको लागि मात्रै होइन, आम जनताको लागि हुनुपर्छ ।’
राष्ट्रिय पूँजीको विकास र दिगो परिचालनमा सबैको ध्यान केन्द्रित गर्न आवश्यक रहेको बताउँदै उनले सम्पूर्ण राजनीतिक दलहरूलाई देशको सामाजिक तथा आर्थिक विकासका लागि नीति निर्माण, योजना तर्जुमा र कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिन् ।
उनले भनिन्, ‘राष्ट्रिय पूँजीको विकास र त्यसको दिगो परिचालनमा सबैले ध्यान केन्द्रित गर्न आवश्यक छ । यसका लागि सम्पूर्ण राजनीतिक दलहरुले देशको सामाजिक, आर्थिक विकासका निम्ती उपयुक्त नीति निर्माण, योजना तर्जमा र त्यसको कार्यान्वयनमा आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्छ । सरकारले विद्यमान नीतिहरुको गहन समिक्षा गर्दै समयसापेक्ष परिमार्जन गर्न अग्रसरता देखाउनुपर्दछ । प्रतिपक्षले त्यसमा रचनात्मक सहयोग समेत गर्नुपर्छ । यस्तो प्रयासबाट नै मुलुकमा स्वदेशी तथा विदेशी लगानीको ढोका खुल्ने र समृद्धिको यात्रा सफलताको दिशातर्फ उन्मुख हुने छ ।’
यसैगरी कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि राजनीतिक दलहरूलाई आ–आफ्नो कार्यशैली सुधार्न सुझाव दिए । उनले भने, ‘कुनै एउटा राजनीतिक दलले अर्कोलाई आक्षेप लगाएर वा नराम्रो देखाएर मत बटुल्नुभन्दा पूर्वाधार निर्माण, रोजगारी सिर्जना र लगानी वृद्धि गर्ने कुरा प्राथमिकतामा राख्नुपर्छ । हरेक नेपालीले आज रोजगारी खोजिरहेको छ ।’
प्रतिक्रिया