Logo

मुख्य समाचार

सामाजिक सञ्जाल जीवनको अभिन्न हिस्सा बनेको छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जालको उपयोग र दुरुपयोगबारे चेतना जगाउन बृहत कार्यक्रम आवश्यक रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ‘सामाजिक सञ्जालको उपयोग÷दुरुपयोग’ विषयक गोष्ठी तथा विद्वान व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जाल अब जीवनको अभिन्न हिस्सा बनिसकेको उल्लेख गरेका हुन् ।

महामन्त्री थापाले भने, ‘आजको दिनमा कोही पनि सामाजिक सञ्जालबाट अलग हुन सक्दैन । यो अब जीवनको एउटा अभिन्न हिस्सा (पार्ट अफ लाइफ) बनिसकेको छ ।’

उनले सामाजिक सञ्जालको सचेत प्रयोगका लागि युवाहरूमाझ चेतनामूलक कार्यक्रम गर्न अत्यन्त आवश्यक रहेको बताए । थापाका अनुसार नेपालको सबैभन्दा ठूलो शक्ति जनसंख्या हो, तर त्यो स्थायी शक्ति होइन । उनले भने, ‘जनसंख्याको तागत अस्थायी हुन्छ । त्यसको तुरुन्तै लाभ लिन सक्नुपर्छ ।’

विशेषगरी २४ वर्षभन्दा मुनिका किशोर–किशोरी र युवावर्गमा सामाजिक सञ्जालको सकारात्मक प्रयोग कसरी गर्ने भन्ने कुरामै देशको भविष्य निर्भर हुने उनले प्रस्ट पारे ।

थापाले युवापुस्तालाई डिजिटल जिम्मेवारी बोध गराउने आवश्यकता औंल्याउँदै भने, ‘हामीले यो पुस्तालाई डिजिटल रेस्पोन्सिबल र डिजिटल सिटीजन कसरी बनाउने भन्नेमा ध्यान दिनु आवश्यक छ ।’

उनले शिक्षा प्रणालीसहित विभिन्न नीतिगत सुधारमा फिनल्यान्ड जस्ता देशहरूबाट सिक्न सकिने धारणा पनि राखे ।

कार्यक्रममा सामाजिक सञ्जालको प्रभाव, यसको सुरक्षित प्रयोग, र डिजिटल साक्षरताका विषयमा विभिन्न विज्ञहरूले पनि आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ८ : ३७ बजे