काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री लिलानाथ श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खारेज नगरेको दाबी गरेका छन् ।
भण्डारीको पार्टी सदस्यताको बारेमा उपयुक्त समयमा उपयुक्त निर्णय हुने श्रेष्ठको भनाई छ । तर, अहिले पार्टीले गरेको निर्णय शिरोधार्य गर्नु आफूहरुको धर्म भएको उनको भनाइ छ ।
बिहीबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै उनले विद्या भण्डारीको पार्टी सदस्यता नवीकरणको सवालमा पार्टीको आधिकारिक च्यानल र प्रवक्ताबाट धारणा सार्वजनिक भएकोले आफ्नो पनि त्यही धारणा भएको जिकिर गरे ।
उनले भने,‘यो विषयमा पार्टी प्रवक्ताले जे वक्तव्य जारी गर्नुभएको छ, हाम्रो धारणा त्यही हो । हाम्रो पार्टीमा निरंकुशता छैन । प्रतिष्पर्धा गरेर अघि बढ्ने हो । अहिले हामीले कसैलाई कारबाही गरेको छैन । हामी कारबाही गर्ने पक्षमा छैनौं । विद्यादेवी भण्डारीको हाम्रो पार्टीमा ठूलो योगदान छ । उहाँको सदस्यता खारेज गरेको छैन । उपयुक्त समयमा सदस्यताको बारेमा छानबिन गरेर उपयुक्त निर्णय हुन्छ । विद्या भण्डारी हाम्रो जिम्मेवार अभिभावक हो । उहाँको पनि यो पार्टी बनाउन ठूलो योगदान छ । उहाँले पार्टी फुटाउने काम गर्नुहुन्न । हामी त पार्टीको कुरा शिरोधार्य गर्छौं ।’
उनले नेपालमा अहिलेका प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीजत्तिको राष्ट्रवादी व्यक्ति अर्को नभएको बताए । एमालेको नेतृत्वमा ओलीको निरन्तरता आवश्यकत्ता भएको उनको भनाई छ । उनले अध्यक्ष ओलीको कुनै देवत्वकरण नगरिएको जिकिर गरे
एमालेको मधेश प्रदेशका ईन्चार्ज तथा स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वमन्त्री श्रेष्ठले मधेश प्रदेश यतिवेला खडेरीको मारमा परेको बताए ।
उनले भने,‘मधेशमा खडेरी परेको छ । मैले त आज सदनमा पनि खानेपानी र खडेरीको लागि विशेष वैकल्पिक व्यवस्था गर्नुपर्छ भनेको छु । साउन १५ गतेपछि धान रोपाईं हुँदैन । मधेशमा अहिले ४९ प्रतिशतमात्रै रोपाईं भएको छ । ५१ प्रतिशत बाँकी छ । मधेश अन्नको भण्डार हो । जलवायु परिवर्तनको कारण हिमाल कालो भएका छन् । सबैतिर तापक्रम बढेको छ । हिमालमा अझै तापक्रम बढेको छ ।’
उनले मधेश सुख्खासग्रस्त क्षेत्र बन्नुको मुख्य कारण जलवायु संकट नै भएको र वन–जंगलको विनाश कारण रहेको सुनाए । उनले भने,‘तत्काल सरकारले चुरे किनारामा ठूलो ठूलो पोखरी, ताल निर्माण गर्नुपर्छ । वृक्षारेपण हुनुपर्छ । तराईमा खडेरी परेको छ । सुख्खा क्षेत्र घोषणा र पिउने पानीको लागि मैले संसद्मा विशेष सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छु । आजै विशेष समयले लिएर सदनमा बोलेको छु । तीनवटै सरकारले जनताको सरोकारको यी विषयमा गम्भीर कदम चाल्नुपर्छ । ठोस नीति बनाएर तत्काल राहत दिनुपर्छ ।’
जनमत पार्टीका महासचिव तथा पूर्वमन्त्री चन्दन सिंहले प्राकृतिक दोहन भएको छ । यसको ठूला प्रभाव छ । जलवायु संकटको व्यापक असर नेपालमा परेको छ । पानी नपरेपछि अहिले मधेशमा असर परेको छ । म्धेश कृषिप्रधान, कृषिमा आधारित क्षेत्र हो, यसमा नै असरपर्न गयो । चुरे दोहन हुनु महान कारण हो भने ।
प्रतिक्रिया